
जनतापत्र, सिन्धुपाल्चोक ।
सुनकोसी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा थुम्पाखर वडा नं। ६ स्थित सात किलो तल्लो छापमा स्तनपान तथा स्थानीय पोषणयुक्त र स्वस्थकर खानाको उपभोग प्रवर्द्धनसम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
थुम्पाखर स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको उक्त कार्यक्रम पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका आमा तथा बालबालिकाको स्वास्थ्य सुधारलाई लक्षित गरी आयोजना गरिएको हो। कार्यक्रममा सुनौलो हजार दिनका आमाहरू, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नवजात शिशु तथा बालबालिकाको स्वस्थ वृद्धि र विकासका लागि स्तनपानको महत्व, सन्तुलित आहारको आवश्यकता तथा स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खाद्य पदार्थहरूको प्रयोगबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई शिशुको जीवनको पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने र त्यसपछिको चरणमा थप पोषणयुक्त खाना समावेश गर्नुपर्ने विषयमा समेत सचेत गराइएको थियो।
स्वास्थ्यकर्मीहरूले कुपोषण न्यूनीकरण, आमा र शिशुको स्वास्थ्य संरक्षण तथा पोषणयुक्त खानाको नियमित प्रयोगले परिवारको स्वास्थ्य अवस्थामा सकारात्मक प्रभाव पार्ने बताएका थिए। साथै स्थानीय स्तरमा उपलब्ध खाद्य सामग्रीको उचित उपयोग गरी पोषण सुधार गर्न सकिने विषयमा पनि जानकारी गराइएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायमा पोषणसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै आमा तथा बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रम सहभागीहरूको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियासहित सम्पन्न भएको थियो।
२० जेष्ठ २०८३, बुधबार ०५:२९