जुगल बालग्राम उद्घाटन, अनाथ तथा संरक्षणविहीन बालबालिकाको शिक्षामा गाउँपालिकाको पहल


जनतापत्र सिन्धुपाल्चोक ।
जुगल गाउँपालिकाभित्र रहेका बुवा–आमा नभएका, अनाथ तथा संरक्षणविहीन बालबालिकाको शिक्षा र समग्र विकासलाई लक्षित गर्दै “जुगल बालग्राम” को औपचारिक उद्घाटन गरिएको छ।
बुधबार जुगल गाउँपालिकाको पहलमा जुगल–२ स्थित सेलाङ माध्यमिक विद्यालय, मानेडाँडामा बालग्रामको उद्घाटन गरिएको हो। गाउँपालिकाले बालबालिकाको अध्ययनलाई सहज बनाउन छात्रावास (होस्टेल) सहितको व्यवस्थापन गर्ने जनाएको छ।
बालग्राममार्फत अभिभावकविहीन तथा संरक्षणको आवश्यकता रहेका बालबालिकालाई सुरक्षित आवास, शिक्षा तथा आवश्यक हेरचाहको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ। यस कार्यक्रमले आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। वक्ताहरूले बालबालिकाको शिक्षा, सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्न जुगल बालग्राम महत्वपूर्ण कदम भएको बताएका छन्।


गाउँपालिकाले बाल अधिकारको संरक्षण, गुणस्तरीय शिक्षा र बालमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीय स्तरमै आवासीय सुविधा सहितको शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको जुगल बालग्रामलाई गाउँपालिकाको एक नमूना सामाजिक अभियानका रूपमा हेरिएको छ।

२८ जेष्ठ २०८३, बिहीबार २१:४१