जुगलमा ‘एभरेष्ट भ्यु पोइन्ट’ पहिचान, पर्यटन विकासको नयाँ सम्भावना

जनतापत्र जुगल ।
जुगल हिमश्रृंखलामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान गरिएको छ। यसले नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावना थपेको छ ।
करिब ५,५७० मिटर उचाइमा अवस्थित यस स्थानबाट सगरमाथासहित चोयु, मकालु, ल्होत्से र शिशापाङ्मा जस्ता विश्वका अग्ला हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ ।
जुगल गाउँपालिकाको आयोजना तथा पर्यटन विकास समितिको अगुवाइमा गरिएको अध्ययन तथा आरोहणपछि यो स्थानलाई आधिकारिक रूपमा पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरिएको हो ।
यो यात्रा काठमाडौँबाट करिब ५ दिनमा पूरा गर्न सकिनेछ। यात्रीहरूले काठमाडौँबाट जुगलको दिपु क्षेत्र हुँदै नेपेमासाल र त्यसपछि भ्यु पोइन्ट पुग्नेछन् र सोही बाटो फर्किने व्यवस्था रहेको छ ।
आयोजकका अनुसार यो पदमार्ग प्राविधिक रूपमा कठिन छैन, सामान्य शारीरिक तन्दुरुस्ती भएका व्यक्तिले पनि यात्रा गर्न सक्नेछन् । विशेष उपकरण आवश्यक नपर्ने भएकाले यो गन्तव्य आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
आर्थिक हिसाबले पनि यो यात्रा सस्तो मानिएको छ । आन्तरिक पर्यटकका लागि करिब ४० हजार रुपैयाँ र विदेशी पर्यटकका लागि करिब १ हजार अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
स्थानीय पर्यटन व्यवसायीहरूले यसलाई सिन्धुपाल्चोकको पर्यटनमा “गेम चेन्जर” हुने सम्भावना रहेको बताएका छन् । यसले होटल, गाइड सेवा, यातायात तथा स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
साथै, यस क्षेत्रमा पर्यटन पूर्वाधार विकास, सुरक्षा व्यवस्थापन र वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

२० बैशाख २०८३, आईतवार ११:०३