सुनिता रखाल, चौतारा ।
सिन्धुपाल्चोकको चौतारामा आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा र खानपानलाई प्रवर्द्धन गर्ने उद्देश्यले फुड फेस्टिभल, स्थानीय उत्पादन प्रदर्शनी तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सिन्धुपाल्चोकको पहलमा सम्पन्न कार्यक्रममा विभिन्न जातीय समुदायहरूको सक्रिय सहभागिता देखिएको थियो।
फेस्टिभलमा नेवार, तामाङ, शेर्पा, गुरुङलगायत समुदायका परम्परागत परिकारहरू प्रदर्शन गरिनुका साथै आगन्तुकहरूलाई स्वाद लिन र खरिद गर्नसमेत सहज व्यवस्था मिलाइएको थियो। विभिन्न स्टलहरूमा राखिएका मौलिक खानाका परिकारहरूले सहभागीहरूको ध्यान आकर्षित गरेका थिए।

कार्यक्रममा सहभागीहरू आ–आफ्नो परम्परागत भेषभूषामा सजिएर उपस्थित भएका थिए। साथै, विभिन्न जातीय समुदायका नाचगान, लोकगीत तथा सांस्कृतिक प्रस्तुतीहरूले वातावरणलाई जीवन्त बनाएको थियो।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले यस्ता कार्यक्रमहरूले जनजातीय मौलिकताको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने उल्लेख गरे। उनले नेपाल विविधता र एकताको सुन्दर उदाहरण भएको बताउँदै आफ्ना संस्कृति र परम्पराको जगेर्ना गर्नु सबैको दायित्व भएको धारणा व्यक्त गरे।
उपप्रमुख सिता थापाले फेस्टिभलले आदिवासी जनजातिको सांस्कृतिक सम्पदा र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन्। उनले संस्कृति संरक्षणका विषयलाई नीतिगत तहमा समेत समेट्नुपर्ने आवश्यकता औँल्याइन्।
यसै अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल ९ब्लोदान० सिन्धुपाल्चोकको आयोजनामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा ५७ जनाले रक्तदान गरेका थिए। संस्थाका अध्यक्ष सुरेश कसजुले रक्तदानलाई जीवन बचाउने महत्वपूर्ण कार्यका रूपमा व्याख्या गर्दै यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने बताए।
सिन्धुपाल्चोक जिल्ला विभिन्न आदिवासी जनजातिको बसोबास रहेको क्षेत्र हो। यहाँका समुदायहरूका भाषा, संस्कृति, रहनसहन र खानपानमा पाइने विविधता यस्ता कार्यक्रममार्फत् उजागर हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
१० बैशाख २०८३, बिहीबार १२:३९