चौतारा साँगाचोकगढीमा शैक्षिक सुधारका लागि अन्तरक्रिया, नतिजा सुधारमा जोड


जनतापत्र, चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यालय शिक्षाको वर्तमान अवस्था र सुधारका उपायबारे गम्भीर छलफल गरेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, शिक्षा सरोकारवाला तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो। विशेषगरी कक्षा ८ को परीक्षाफल अपेक्षाअनुसार नआएको विषयमा विस्तृत छलफल गरिएको थियो ।
सहभागीहरूले नतिजा सुधारका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्। शिक्षण विधि सुधार, शिक्षकको नियमित मूल्यांकन, विद्यार्थीको सिकाइ वातावरण सुधार तथा अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ ।
कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। उपप्रमुख सिता थापा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा शिक्षा शाखाका प्रतिनिधिहरूले शैक्षिक गुणस्तर सुधारका लागि तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षक तालिम, मूल्यांकन प्रणाली सुधार र डिजिटल शिक्षाको प्रयोगबारे चर्चा गरिएको थियो ।
कार्यपत्रमाथि विभिन्न विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका प्रतिनिधिहरूले टिप्पणी गरेका थिए। उनीहरूले विद्यालय स्तरमा नियमित अनुगमन र स्रोत व्यवस्थापन सुधार आवश्यक रहेको बताए ।
सहभागीहरूले शिक्षाको गुणस्तर सुधारका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेका छन्। नगरपालिकाले आगामी दिनमा शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

२० बैशाख २०८३, आईतवार १०:५८