चीनको जीवन्त इतिहास

चेतनाथ आचार्य

चेतनाथ आचार्य

sharethis sharing button
चीनको जनक्रान्ति झल्किने ढुंगेचित्र। तस्बिरः चेतनाथ आचार्य
चीनको जनक्रान्ति झल्किने ढुंगेचित्र। तस्बिरः चेतनाथ आचार्य

बेइजिङ डायरी

बेइजिङको सिधा उत्तरपट्टि चौथो र पाँचौं चक्रपथको बीचमा ओलम्पिक रंगशाला छ। सन् २००८ मा चीनले आयोजना गरेको २९ औं गृष्मकालीन ओलम्पिक खेलकुदका लागि निर्मित यो रंगशालाले उक्त क्षेत्रको काँचुली फेरिदिएको छ।

रंगशाला निर्माण हुनुभन्दा अगाडि बेइजिङको उक्त क्षेत्र वनजंगल र सिमसारले भरिएको थियो। एक हिसाबले सहरदेखि अलिक टाढा ग्रामीण क्षेत्रका रूपमा रहेको ठाउँमा चीन सरकारले ओलम्पिक खेलकुदका लागि उचित ठान्यो र भव्य रंगशाला बनायो।

डिजाइन र निर्माण संरचनाका आधारमा बेइजिङको उक्त ओलम्पिक रंगशालालाई ‘चराको गुँड’ (बर्ड्स नेस्ट) भनिन्छ। चीनले ओलम्पिक खेलकुद आयोजना गर्न रंगशाला मात्र बनाएन, उक्त क्षेत्रमा आलिशान भवनहरू, साततारे होटल, विभिन्न कर्पोरेट कार्यालय, अत्याधुनिक अस्पताल, भव्य पूर्वाधार, बेइजिङ मेट्रोका थुप्रै लाइन विस्तार गरिदियो।

अहिले सोही ठाउँमा एसियाली पूर्वाधार लगानी बैंकको हेडक्वार्टर छ।

त्यही ओलम्पिक रंगशालाको नजिकै (उत्तरपूर्वी दिशातिर) चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय (सिपिसी म्युजियम) छ।

यो संग्रहालयले चीनको सन् १९२१ देखि २०२१ सम्मको इतिहासलाई जीवित बनाएको छ। सिपिसीले एक शताब्दी पार गर्दैगर्दा निर्माण गरिएको यो संग्रहालय यति बेला चिनियाँ र विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

सिपिसीले एक वर्षको गौरवमय इतिहास सिर्जना गरेको उपलक्ष्यमा स्थापित यसलाई ‘चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय’ वा ‘चिनियाँ कम्युनिस्ट पार्टी इतिहास प्रदर्शनी हल’ भनिन्छ।

cabd7-1777733919.jpg
संग्रहालय बाहिर रहेको सिपिसीको विशाल झन्डा। तस्बिरः चेतनाथ आचार्य
cabd1-1777733918.jpg
उच्च गतिको रिल झल्किने दृश्य। तस्बिरः चेतनाथ आचार्य

बेइजिङ ;हरको छाओयाङ जिल्लाको पेइछन पूर्वी सडक नम्बर ९ मा रहेको यो संग्रहालयले लगभग १४.७ वर्ग किलोमिटर (१४७,००० वर्ग मिटर) क्षेत्रफल ओगटेको छ। ५० मिटर उचाइका दुई विशाल भवन र बीचमा फराकिलो प्रांगण रहेको संग्रहालयले परम्परागत चिनियाँ स्तम्भ शैलीको संरचना प्रयोग गरेको छ।

संग्रहालयका अग्रभागमा २८ वटा श्वेत मार्बलका स्तम्भ छन्। यी २८ वटा श्वेत मार्बलका स्तम्भ सिपिसी स्थापनादेखि नयाँ चीन स्थापनासम्मको २८ वर्षे संघर्षका प्रतीक हुन्। यसलाई ‘बेइजिङको नयाँ रातो कोसेढुंगा’ पनि भनिन्छ।

यो संग्रहालयको निर्माण सन् २०१८ सेप्टेम्बर १० मा सुरू भई सन् २०२१ मे ५ मा सम्पन्न भएको थियो। यो सन् २०२१ जुन १८ मा खुला गरिएको थियो। यसको परिकल्पना तथा निर्माण सिपिसीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको प्रत्यक्ष पहलमा भएको हो।

‘प्रारम्भिक लक्ष्य नबिर्सौं, कर्तव्य सम्झौं’ भन्ने नारा यो संग्रहालयले बोकेको छ। सन् १९२१ मा सिपिसी स्थापना हुँदा जनताको मुक्ति प्रारम्भिक लक्ष्य थियो। अहिले पनि सिपिसीले जनतालाई प्राथमिकतामा राखेर काम गर्ने दृढ संकल्प बोकिरहेको छ। यही मर्म आत्मसात गर्दै ‘प्रारम्भिक लक्ष्य नबिर्सौं, कर्तव्य सम्झौं’ नारा तय गरिएको छ।

संग्रहालयले सिपिसीको शताब्दी लामो संघर्षलाई कालानुक्रमिक रूपमा चित्रण गर्दै पार्टीको स्थापना, क्रान्ति, सुधार र नयाँ युगको विकासका चार वटा मुख्य भागहरूमा प्रस्तुत गरेको छ।

यहाँ २,५०० भन्दा बढी तस्बिर र ४,५०० भन्दा बढी ऐतिहासिक वस्तु छन्। प्रदर्शनीको कुल लम्बाइ ३,५०० मिटर छ। यहाँ ऐतिहासिक महत्व बोकेका दस्तावेजहरूमा मार्क्सको हस्तलिखित, सिपिसीको पहिलो महाधिवेशन स्थलको पुनःनिर्माण र ‘लङ मार्च’ सम्बन्धी सामग्री हुन्।

संग्रहालयका दुई विशाल भवनको बीचमा रहेको प्रांगणको माथिल्लो कुनामा सिपिसीको विशाल झण्डाको मूर्ति र चार वटा प्रतिमा समूह छन्। ती चार समूहले धर्म, महान उपलब्धि, हमला र सपनाको खोजी बोकेका छन्।

यहाँ २७६ व्यक्तित्वहरूका मूर्ति अंकित छन्।

cabd8-1777733919.jpg
सी चिनफिङको कार्यकल र चीनको विकास झल्काउने दृश्य। तस्बिरः चेतनाथ आचार्य
cabd5-1777733919.jpg
पहिलो चरणमा चीनले विकास गरेको प्रविधि। तस्बिरः चेतनाथ आचार्य

यो संग्रहालयले सिपिसीको इतिहास नजिकबाट बुझ्न सहयोग गर्छ। चीनको इतिहास र सिपिसीको योगदानमा चासो राख्नेका लागि यो महत्वपूर्ण अध्ययन केन्द्र हुन सक्छ।

चीनका विभिन्न विश्वविद्यालय र विद्यालयका विद्यार्थी तथा अन्य अध्येताहरू सधैं यहाँ अवलोकन गर्दै गहन अध्ययन गरिरहेका भेटिन्छन्।

यो संग्रहालयले सिपिसीको स्थापनादेखि नयाँ युगसम्मको सम्पूर्ण यात्रा चार वटा मुख्य भागमा विभाजन गरेर प्रस्ट्याउन खोजेको छ।

पहिलो सिपिसीको स्थापना र नयाँ जनवादी क्रान्तिको विजय (सन् १९२१ देखि १९४९ सम्म) को भाग हो। यो भागमा सिपिसीको प्रारम्भिक विचार र स्थापनाका सामग्री प्रदर्शनमा राखिएको छ।

त्यस्तै मार्क्सको हस्तलिखित ब्रसेल्स नोटबुक र यसको चिनियाँ भाषामा अनुवादित पहिलो संस्करणसँगै कम्युनिस्ट पार्टीको घोषणापत्र प्रदर्शन गरिएको छ। सिपिसीको पहिलो राष्ट्रिय महाधिवेशन स्थलको पुनर्निर्माण, नयाँ युवा (न्यू युथ) पत्रिका र ली ताचाओका पत्रहरू जस्ता कलाकृतिहरू पनि यहाँ समावेश छन्।

योसँगै सिपिसीले सन् १९२७ मा सुरू गरेको रक्तपातपूर्ण संघर्षका कथा झल्किने सामग्री पनि राखिएका छन्।

चिनियाँ नेता ली ताचाओले फाँसीको मञ्चमा प्रयोग गरेको फलामे साङ्लो पनि छ। यो साङ्लो सन् १९४९ पछि सिपिसीको नेतृत्वमा बनेको सरकारले अधिग्रहण गरेको थियो। यो साङ्लो चीन जनक्रान्तिको पहिलो क्रान्तिकारी सम्पत्ति मानिन्छ। यसलाई ०००१ नम्बरले अंकित गरिएको छ।

सन् १९२७ मा च्याङ्सु प्रान्तको नानछाङमा चिनियाँ जनमुक्ति सेना स्थापना भएको थियो। चिनियाँ जनमुक्ति सेनाको स्थापनामा भएको नानछाङ विद्रोह चिनियाँ नेता चु तले प्रयोग गरेको पिस्तोल र पहिलो पटक लालसेनाले लगाएको वर्दी पनि संग्रहालयमा छ।

cabd2-1777733918.jpg
क्रान्ति र माओ। तस्बिरः चेतनाथ आचार्य

अध्यक्ष माओ चतोङको नेतृत्वमा भएको लङ मार्च झल्किने गरी, फोर–डी फिल्मको माध्यमबाट यात्राको अनुभूति गराइने वृत्तचित्र संग्रहालयमा नियमित प्रदर्शन गरिन्छ।

यस्ता वृत्तचित्रमा पहाड र हिमालको कठिन यात्रा र झोलुंगे पुलबाट गरिएको युद्ध देखाइन्छ। प्रदर्शनीमा लङ मार्चका विभिन्न मूर्ति पनि राखिएको छ।

जनमुक्ति युद्ध र विजय झल्किने विभिन्न प्रदर्शनीहरूमध्ये फिङसिङक्वान युद्ध र पैथुआन आक्रमण जस्ता प्रमुख सैन्य कारवाहीहरू हेर्न लायक छन्। सन् १९४५ मा आयोजित सिपिसीको सातौं राष्ट्रिय महाधिवेशनको मतपेटिका पनि प्रदर्शनमा राखिएको छ।

चीनमा भएको गृहयुद्ध अन्तर्गतका यी प्रदर्शनीहरूमा चियाङ्सीको सोभियत क्षेत्रदेखि लिएर पूर्वोत्तर चीनको मुक्ति युद्धको अन्त्यसम्मका प्रमुख घटना समावेश छन्।

संग्रहालयको दोस्रो भागमा जनवादी गणतन्त्र चीनको स्थापना र समाजवादी क्रान्ति (सन् १९४९ देखि १९७८ सम्म) को समय प्रतिनिधित्व गराइएको छ।

यस समयमा नयाँ चीनको जन्मोत्सव महान संस्थापक समारोहको समयमा फहराइएको पहिलो पाँचतारे झण्डा, चीनको केन्द्रीय जनसरकारको औपचारिक प्रतीक चिह्न र राउन्डहेभन रेसिडेन्स पुनर्निर्माण जस्ता प्रमुख ऐतिहासिक स्थलहरू प्रदर्शन गरिएका छन्।

विदेशी आक्रमणको प्रतिरोधका रूपमा रहेको कोरियाली युद्धमा प्रयोग गरिएका हतियार राखिएका छन्। यो युद्धमा अध्यक्ष माओका छोरा माओ एनयिङको टोपी पनि प्रदर्शन गरिएको छ।

सन् १९५४ मा जारी भएको चीनको पहिलो संविधान, लइ फङ्गको डायरी, होङ्ग्कीको रातो झन्डा नहरको पुनर्निर्मित दृश्य र ‘तङफङहङ’ टाइप ५४ ट्र्याक्टर जस्ता वस्तु समावेश छन्।

cabd6-1777733919.jpg
युवावस्थामा सी चिनफिङ। तस्बिरः चेतनाथ आचार्य

संग्रहालयको तेस्रो भागमा चीनले अँगालेको सुधार र खुलापन (सन् १९७८ देखि २०१२) सम्मको समय देखाइएको छ।

यसमा आर्थिक सुधारका लागि चिनियाँ नेता तङ सियाओफिङले शनचन विशेष आर्थिक क्षेत्रका लागि गरेको लेखन, शाङ्हाई पुतोङको विकास योजना र शनचन स्टक एक्सचेन्जको घन्टी प्रदर्शनमा छन्।

यही अवधिमा भएको प्राविधिक प्रगतिका रूपमा बेइजिङ ओलम्पिक २००८ का पदकहरू पनि प्रदर्शनीमा राखिएका छन्। सन् २००८ अन्तर्राष्ट्रिय समुदायमा चीनको त्यस्तो कोशेढुंगा हो जहाँबाट चीनलाई चियाउने थुप्रै ढोका थप खोलिएका थिए।

चीनको बढ्दो विश्वव्यापी पहिचानको प्रतीक पनि सन् २००८ को ओलम्पिकलाई मानिन्छ। जनताको जीवनस्तरमा भएको परिवर्तन देखाउन विभिन्न दशकका घरायसी दृश्यहरू पनि यस भागमा प्रदर्शन गरिएका छन्।

चौथो भाग भनेको चीन नयाँ युगमा प्रवेश गरेको समय हो। सन् २०१२ मा भएको सिपिसीको अठारौं राष्ट्रिय महाधिवेशनबाट सी चिनफिङ सत्तामा आएपछिको समयलाई चीन नयाँ युगमा प्रवेश गरेको मानिन्छ।

यही अवधिमा चीनले पूर्ण रूपमा गरिबी निवारण निवारण गरेको हो।

सी चिनफिङको नेतृत्व र निर्देशमा चीन ‘सियाओखाङ्ग’ अर्थात् मध्यम–समृद्धिमा प्रवेश गरेको कुरा प्रदर्शनीमा प्रस्ट्याइएको छ। प्रदर्शनीमा राखिएका विभिन्न उपलब्धि र सम्बन्धित चार्टहरूले गरिबी निवारणको उपलब्धिलाई संग्रहालयमा विशेष ठाउँ दिइएको छ।

चीनले प्राकृतिक प्रकोपको प्रतिक्रिया र आविष्कार गरेको नयाँ प्रविधिलाई पनि यही भागमा प्रदर्शनी गरिएको छ। सन् २०२० मा देखिएको कोभिड महामारी नियन्त्रण गर्न चीनले केही घन्टामै निर्माण गरेको हुओशनसान र लइशनसान अस्पतालको मोडलले महामारी विरूद्धको लडाइँ कसरी सफल भयो भन्ने कुरा देखाउँछ।

यही भागमा उच्च गतिको रेल र अन्तरिक्षमा चीनले गरेको प्रगति तथा चिनियाँ पुनर्जागरणमा सी चिनफिङले देखाएको चिनियाँ सपना जस्ता अन्तरक्रियात्मक उपकरणहरूले पनि नवीनता उजागर गरिएको छ।

cabd4-1777733919.jpg
तङ स्याओफिङ। तस्बिरः चेतनाथ आचार्य

संग्रहालयमा चीनका मूलतः पाँच जना नेताहरूको जीवनी झल्किने गरी विभिन्न प्रदर्शनी गरिएको छ।

अध्यक्ष माओ, तङ स्याओफिङ, च्याङ चमिन, हु चिनथाओ र सी चिनफिङ पाँच जना नेताको समयमा चीनको विकास प्रतिनिधित्व गराइएको छ।

यी पाँच नेताको समयमा मुख्य रूपमा चीनमा के कस्ता परिवर्तन भए भन्ने कुरा इतिहासदेखि वर्तमानसम्मको समय चक्र, कृषि, पूर्वाधार, जनजीवन लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको पहिचान र छवि सुक्ष्म रूपमा प्रस्तुत गरिएको छ।

धैर्य र गहन रूपमा संग्रहालय अवलोकन गर्न एक दिन लाग्न सक्छ। संग्रहालयको पश्चिमपट्टिको भवनमा चाहिँ नयाँ चीन स्थापना हुनुभन्दा अगाडि (सन् १९४९ भन्दा अगाडि) का ऐतिहासिक वस्तु संकलन गरेर राखिएको छ।

यस क्षेत्रमा बालिबालिकाहरूलाई तत् क्षेत्रमै मनोरञ्जनात्मक अभ्यास मार्फत व्यावहारिक ज्ञान दिने सकिने स्थल पनि छन्। उदाहरणका लागि माटाको भाँडा बनाउने अभ्यास, चंगा बनाउने, परम्परागत चिनियाँ सांस्कृतिक सम्पदा बनाउने आदि कार्य सशुल्क रूपमा गर्न सकिन्छ।(सेतोपाटीबाट साभार)

२० बैशाख २०८३, आईतवार १०:४५