चिलिमे सुरुङबाट दुई शव निकालिए, उद्धार कार्य जारी

काठमाडौं — रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेना र भारतबाट आएको सुरुङ उद्धार विशेषज्ञ टोलीले दुईवटा शव निकालेको छ। बाढीपछि सुरुङभित्र कर्मचारी फसेको आशंकामा सुरु गरिएको खोज तथा उद्धारका क्रममा ती शव फेला परेका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार भारतीय टोली नेपाल आएपछि नेपाली सेनासँग संयुक्त रूपमा सुरुङभित्र प्रवेश गरी खोजी सुरु गरिएको थियो। टोलीले करिब २५० मिटर लामो सुरुङको १०० मिटर भागसम्म पुगेर दुई शव बाहिर निकालेको हो।

उक्त क्षेत्रमा जीवित व्यक्ति फेला पार्न नसकिएको सेनाले जनाएको छ। सुरुङभित्र अझै मानिस फसेको हुन सक्ने भएकाले खोजी कार्यलाई निरन्तरता दिइएको छ।

चिलिमे जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनका अनुसार बाढीका कारण आयोजनाको सुरुङभित्र ६ जना कर्मचारी फसेको आशंका गरिएको छ।

भारतीय विशेषज्ञ टोलीले यसअघि हेलिकोप्टरबाट चिलिमे तथा लाङटाङ आसपासका क्षेत्रको हवाई निरीक्षणसमेत गरेको थियो। त्यसपछि नेपाली सुरक्षा निकायसँग समन्वय गरी स्थलमै उद्धार अभियान अघि बढाइएको हो।

उद्धारका क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८२ जना सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरिएको छ। सुरुङभित्रको अवस्था जटिल रहेकाले आधुनिक उपकरणको प्रयोग गर्दै सुरक्षित रूपमा बाटो खुलाउने तथा सम्भावित पीडितको खोजी गर्ने काम भइरहेको छ।

बाढीका कारण सुरुङ तथा आयोजनाका संरचनामा क्षति पुगेकाले उद्धारकर्तालाई भित्र पस्न चुनौती भइरहेको छ। टोलीले सुरुङको अवस्था परीक्षण गर्दै जोखिम कम हुने गरी चरणबद्ध रूपमा खोजी तथा उद्धार अघि बढाइरहेको जनाएको छ।

१४ भाद्र २०८३, आईतवार १९:३५