काठमाडौं, भदौ १२ — भोटेकोशी बाढीपछि चीनको केरुङमा करिब ८० जना नेपाली कन्टेनर चालक अलपत्र परेका छन्। सामान लिन केरुङ पुगेका उनीहरू बाढीका कारण तीन दिनदेखि नेपाल फर्कन नसकेका हुन्।
केरुङमा रहेका चालक कृष्णबहादुर लामिछानेका अनुसार अलपत्र परेका चालकहरूको विवरण चिनियाँ प्रशासनले संकलन गरिरहेको छ। अहिलेसम्म करिब ८० जनाले आफ्नो नाम दर्ता गराएको उनले बताए।
नेपाल फर्कन नपाएपछि चालकहरू आफ्नै खर्चमा होटलमा बसिरहेका छन्। लामिछानेका अनुसार केही चालकको घरपरिवारसँग सम्पर्क हुन सकेको छैन भने कतिपयको साथमा रहेको रकमसमेत सकिन लागेको छ। उनीहरूले सरकारले तत्काल स्वदेश फर्कने वैकल्पिक व्यवस्था गरिदिन माग गरेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीले रसुवागढी–धुन्चे सडक र विभिन्न पुलमा ठूलो क्षति पुर्याएकाले हालकै बाटोबाट चालकहरूलाई नेपाल ल्याउन सम्भव छैन। क्षतिग्रस्त सडक सञ्चालनमा आउन लामो समय लाग्न सक्ने उनको भनाइ छ।
बाढीका कारण रसुवागढी–टिमुरे–स्याफ्रुबेंसी सडक खण्डमा व्यापक क्षति भएको छ। त्यसैले केरुङमा रहेका नेपालीलाई स्वदेश फर्काउन तातोपानी वा कोरला नाकाको विकल्पबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको प्रशासनले जनाएको छ।
चालकहरूका अनुसार केरुङबाट तातोपानी करिब ३०० किलोमिटर टाढा छ भने कोरला नाका अझै टाढा पर्छ। वैकल्पिक नाका प्रयोग गरेर भए पनि सरकारले आफूहरूलाई नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
केरुङ क्षेत्रमा कन्टेनर चालकसँगै निर्माण मजदुर, होटलमा काम गर्ने तथा विभिन्न व्यवसायमा संलग्न नेपालीहरू समेत बस्दै आएका छन्।
१२ भाद्र २०८३, शुक्रबार १५:५४