ओलम्पिक डे २०२६ को अवसरमा मैत्रीपूर्ण खुला दौड प्रतियोगिता सम्पन्न


सुनिता रखाल चौतारा ।
आधुनिक ओलम्पिक खेलकुदको स्थापना दिवसको स्मरणमा ओलम्पिक डे २०२६ को अवसरमा सिन्धुपाल्चोकको चौतारामा मैत्रीपूर्ण खुला दौड प्रतियोगिता सम्पन्न भएको छ। ब्लोडान जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटा तथा उपप्रमुख सीता थापाले संयुक्त रूपमा गरेका थिए ।


कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, खेलाडी, खेलप्रेमी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले खेलकुदमार्फत स्वास्थ्य, अनुशासन, मित्रता र एकताको सन्देश प्रवाह गर्दै दौड प्रतियोगितामा सहभागिता जनाएका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदले युवाहरूलाई सकारात्मक मार्गमा अग्रसर गराउनुका साथै स्वस्थ र अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले खेल प्रतिभाको पहिचान र विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी उपप्रमुख सीता थापाले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई सामाजिक सद्भाव, सहकार्य र एकताको आधार भएको उल्लेख गर्दै युवाहरूलाई नियमित खेलकुद गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो।
प्रतियोगितामा क्याम्पसका शिक्षक युवराज निरौला तथा विद्यार्थी स्वस्थानी वि.क. र सिता श्रेष्ठले उत्कृष्टता हासिल गरेका थिए ।
खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्नुका साथै अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमको महत्व बढ्दै गएको छ। ओलम्पिक दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताले स्वस्थ जीवनशैली तथा खेल संस्कृतिको प्रवद्र्धनमा समेत टेवा पु¥याएको आयोजकले जनाएको छ।


आयोजकका अनुसार ओलम्पिक आन्दोलनका मूल्य–मान्यता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले खेल संस्कृतिको विकास तथा युवापुस्तामा खेलप्रति रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ। प्रतियोगिताले खेलकुदमार्फत स्वस्थ जीवनशैली र सामाजिक एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

९ असार २०८३, मंगलवार १०:५३