जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ लाई अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा गरिएको छ। ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष शोभना तामाङ, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा वडा घोषणा कार्यक्रम सम्पन्न भएको हो।
घोषणासँगै वडा नं। ५ मा माध्यमिक तहसम्मको सामुदायिक शिक्षा पूर्ण रूपमा निःशुल्क भएको जनाइएको छ। शिक्षा सबै बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै कार्यक्रममा सहभागी वक्ताहरूले गुणस्तरीय तथा समावेशी शिक्षाको पहुँच सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका थिए।
कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान समेत गरिएको छ। गत शैक्षिक सत्रको कक्षा ८ को पालिका स्तरीय परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल जनसुधार आधारभूत विद्यालयलाई वडाको उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ।
त्यसैगरी, नमोबुद्ध आधारभूत विद्यालयमा कार्यरत शिक्षक मिना पाण्डे दंगाललाई उत्कृष्ट शिक्षक, ऐसेलुखर्क माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सोनिया अर्याललाई उत्कृष्ट विद्यार्थी तथा कालिका आधारभूत विद्यालय सेवा क्षेत्रकी सपना ढकाललाई उत्कृष्ट अभिभावकका रूपमा सम्मान प्रदान गरिएको छ।
सम्मानित सबैलाई जनही नगद रु। १० हजार, प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
स्थानीय सरकारको पहलमा गरिएको यो घोषणा शिक्षा पहुँच र गुणस्तर सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
२७ जेष्ठ २०८३, बुधबार १०:२५