
जनतापत्र,काठमाडौं ।
इन्डोनेसियाको पूर्वी क्षेत्रमा अवस्थित लेवोटोबी लाकी-लाकी (Mount Lewotobi Laki-Laki) ज्वालामुखी लगातार नौ पटक विस्फोट भएको छ।
इन्डोनेसियाको ज्वालामुखी तथा भूगर्भीय जोखिम न्यूनीकरण केन्द्र (PVMBG) का अनुसार विस्फोटपछि करिब ३.८ किलोमिटर (३ हजार ८ सय मिटर) उचाइसम्म बाक्लो खरानी र धुवाँको विशाल मुस्लो आकाशमा फैलिएको छ।
ज्वालामुखीबाट निस्किएको खरानीका कारण आसपासका क्षेत्रमा जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई आग्रह गरेको छ। साथै, तोकिएको सुरक्षा घेराभन्दा बाहिर रहन र अनावश्यक आवतजावत नगर्न निर्देशन दिइएको छ।
विस्फोटपछि फैलिएको खरानीका कारण हवाई उडान सेवासमेत प्रभावित भएका छन्। अधिकारीहरूले ज्वालामुखीको गतिविधिलाई निरन्तर निगरानीमा राखिएको जनाउँदै सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन्।
लेवोटोबी लाकी-लाकी इन्डोनेसियाका सक्रिय ज्वालामुखीमध्ये एक मानिन्छ। यस क्षेत्रमा बारम्बार हुने ज्वालामुखी गतिविधिका कारण स्थानीय प्रशासनले नियमित रूपमा जोखिम मूल्याङ्कन र सुरक्षा व्यवस्थालाई कडा बनाउँदै आएको छ।
२६ जेष्ठ २०८३, मंगलवार १३:१३