– शशिनाथ आचार्य
सिन्धुपाल्चोक—इतिहास, संघर्ष, प्रकृति र संस्कृतिको अद्भुत संगम। लिच्छवीकालीन सभ्यतादेखि तामाङ–शेर्पा बस्तीहरूको मौलिक जीवनशैलीसम्म, पाँचपोखरीको धार्मिक आस्था देखि हेलम्बुको हिमाली सौन्दर्यसम्म फैलिएको यो जिल्ला केवल भूगोल होइन, जीवित इतिहास हो। यही माटोले २०५२ देखि २०६२ को सशस्त्रद्वन्द्वको पीडा देख्यो, २०७२ सालको भूकम्पको कहर भोग्यो, अनि फेरि उठेर जीवनलाई मुस्कुराउन सिकायो। इन्द्रावती, मेलम्ची, भोटेकोशीका आवाजहरूले यहाँका पहाडहरूलाई सधैं बोलाइ रहन्छन्।
त्यही सिन्धुपाल्चोकलाई आमायाङ्ग्रीको चुचुरोबाट नियाल्ने रहर मनमा धेरै अघिदेखि हो । तर पटक पटक तय भैकन पनि रोकिनु परेको थियो । यसपटक भने यात्राको सुरुआत कुनै रोमान्टिक दृश्यबाट होइन, जिम्मेवारीबाट भएको थियोः मिति २०८३ जेठ ८ गते ।
वडाध्यक्ष भएपछि प्राप्त जिम्मेवारी पुरा नगरिकन हिड्नुपनि मिलेन । त्यो दिन बिहानैदेखि ईन्द्रावती गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा सेवाग्राहीको भीड थियो। कसैलाई सिफारिस चाहिएको थियो, कसैलाई योजना सम्बन्धी जानकारी, कसैलाई सामाजिक सुरक्षा भत्ताको गुनासो । सार्वजनिक सेवा प्रवाहसँग जोडिएका ती पर्खाइहरूले घडीलाई अघि बढ्नै दिइरहेका थिएनन्।गाउँपालिकाको कार्यालयमा निर्माण व्यवसायीसँग अन्तरक्रिया पनि थियो । पालिका अध्यक्षले आफु नहुने भएपछि विषेश जिम्मेवारी है भनेर हिड्नु भएको थियो । कागज, योजना, बजेट, विवाद र विकासका बीचमा दिन बितिरहेको थियो। मोबाइलमा सेवाग्राहीका फोन निरन्तर आइरहेका थिए त कहिले प्रहरी कार्यालयको । अघिल्लो दिन नै “भोलि दिउँसो १.०० बजे निस्कि सक्ने भन्ने सल्लाह भएको थियो, तर गाउँको जिम्मेवारीले कहिले मानिसको योजना मान्छ र ? त्यसमाथि मेलम्चीबाट भाइ भूगोल र खगोलको ताकेता झन् बढिरहेको थियो। “दाइ, अब कहिले निस्किने ?” उता दाइ ज्योतीको फोन आयो—“अर्को हप्ता जाँदा पनि हुन्छ, अहिले हतार नगर्नुस्।” उहाँले मलाई रोक्न खोज्नुभएको थियो। तर आश्चर्य ! केहीबेरपछि थाहा भयो—उहाँ आफैं झोला कस्दै हुनुहुँदो रहेछ। काका तीर्थनाथ आचार्य पनि जुर्मुराइसक्नुभएको रहेछ । आखिर पहाडको यात्रा भनेको रोगजस्तै हो, एकजनालाई लागेपछि सिंगो टोलीलाई छोइहाल्छ ।
म दिउँसो करिब ४.२० बजे बल्ल मेलम्ची उत्रिएँ । म मेलम्ची पुग्दा काठमाडौदेखि भाइ सौर्य आचार्य आइसकेको रहेछ भने १्२ जना आइपुग्दै हुनुहुँदो रहेछ । बेलुकी ५ बज्न लाग्दा बल्लतल्ल हामी जम्मा भयौँ । चार वटा मोटरसाइकल, आठ जना यात्रु । बाइक चालकमा म, भाइ सुकदेव अधिकारी, खगोल, शंकर कट्टेल र दाइ ज्योती । घाम डाँडामुनि झरिरहेको थियो। गोधूली साँझले मानौँ हाम्रो यात्रालाई स्वागत गरिरहेको थियो । मेलम्चीमा पेट्रोल हाल्न रोकिएका बेला पम्पवाला दाइले चेतावनी दिनुभयो—“आज बीचमै बस्नुस्, दुस्साहस नगर्नुस्, भरे समस्या पर्नुहुन्छ फेरी ।” उनको यो कुराले पनि हामीलाई खासै छोएको थिएन । जवाफमा मुस्कुरायौँ मात्र । लाग्यो पहाड जाने मानिसलाई चेतावनीले कहिल्यै रोक्दैन, बरु उत्सुकता अझ बढाइदिन्छ।
यात्रा सुरु भएसँगै बाइकहरूबीच उछिनपाछिन सुरु भयो। कसले घुम्ती छिटो काट्ने, कसले उकालो सजिलै तान्ने—पहाडी बाटोमा त्यो सानो प्रतिस्पर्धा रोमाञ्चक पनि थियो, जोखिमपूर्ण पनि ।फट्टे पुगेर मेलम्ची नदीमाथिको अस्थायी हिउँदे पुल तर्दा नदीको गर्जनले यात्रालाई अझ गम्भीर बनायो । दुवाचौरसम्म कतै ढलान, कतै ग्राभेल बाटो थियो । सल्ले बजारसम्म त ठिकै थियो, तर त्यहाँबाट पोखरेतिर बाटोले आफ्नो वास्तविक रूप देखाउन थाल्यो । पोखरेमा रोकेर हामीले भरे र भोलिको तयारी स्वरूप टाउको दुख्ने, पेट दुख्ने, पखाला रोक्ने र ज्वरोका सामान्य औषधि किन्यौँ। पहाडमा हिड्दा हिड्दै कहिले औषधि साथी बन्छ, कसैले भन्न सक्दैन । लेकको यात्रामा जाँदा हामीले आफ्नो तयारीमा हिड्नै पर्यो । दुवाचौरबाट पाल्चोकतिर उकालो लाग्दा भर्खरै परेको पानीले बाटोलाई अस्तव्यस्त बनाएको रहेछ । कतै हिलो, कतै चिप्लो, कतै खाल्डो । घुम्ती र मोड पार गर्दै पाल्चोक भञ्ज्याङ पुग्दा साँझ पर्न थालिसकेको थियो । त्यहाँ देखिएका किवीका हरिया बोटहरूले थकित आँखामा ताजापन भरे । तर बाटोले फेरि खेल खेल्यो। हामी केही पर गलत बाटो लागेछौँ। फर्किनुप¥यो। पहाडमा गलत मोडले दूरीभन्दा बढी आत्मविश्वास खाइदिन्छ।
पाल्चोक भञ्ज्याङबाट माथि लागेपछि असली परीक्षा सुरु भयो। बाटो हराइरहेको थियो। कतै स्थानीयसँग सोध्दै, कतै मोबाइलको नक्सा हेर्दै अघि बढ्यौँ । हेलम्बु गाउँपालिकाले बनाएको हिमालय ट्रेलमा पुग्दा पनि हामी अल्मलियौँ । त्यही बेला शेर्माथानबाट मोटरसाइकलमा आउँदै गरेका पाल्चोक माध्यमिक विद्यालयका दुई शिक्षकसँग भेट भयो। चिनजान भयो । “फर्किँदा चिया खाएर जानुहोला,” उहाँहरूले भन्नुभयो।
त्यो आत्मीयताले बाटोभन्दा बढी मन उज्यालो बनायो । अझ माथि गुम्बा नजिकै बस्ने एक वृद्ध आमाले सल्लाह दिनुभयो—“बाबु, बेलुका बेस क्याम्प पुग्न गाह्रो छ।”तर हाम्रो मन त त्यतिबेलै आमायाङ्ग्रीको टुप्पो पुगिसकेको थियो । ६स्३० बजेतिर शेर्माथान पुग्यौँ। त्यो बस्ती साँच्चै स्वर्गजस्तै लाग्यो। काठ र ढुंगाले बनेका घरहरू, अनुशासित बजार, सफा वातावरण, तीनतारे होटल—सबैले हिमाली सभ्यताको सौन्दर्य बोकेका थिए । तर गाउँमा युवा कम थिए। धेरैजसो विदेशिएका रहेछन् । त्यो ठाउँमा उभिँदा लाग्यो—हाम्रा बुवा र बाजेहरू यही बाटो आलु खोज्दै हिँड्थे होलान्। समय फेरिएको छ, तर पहाडको श्रम उस्तै छ ।
ग्रेट हिमालयन ट्रेलमा केहीबेर फोटो सेसन ग¥यौँ । ६स्४० तिर फेरि यात्रा सुरु भयो।
अब बाटो घना र अनकन्टार थियो । जंगल, चराचुरुङ्गी र जंगली जनावरका आवाज नै हाम्रा साथी थिए। कोइलीको मधुर धुनले थकान बिर्साइरहेको थियो। तर भित्रभित्रै डर पनि थियो। बाटोको अवस्था “राम राम” भन्दै अघि बढ्नुपर्ने बाध्यता, तर नयाँ ठाउँ पुग्ने उत्सुकताले मनलाई अझ बलियो बनाइरहेको थियो । बीच बाटोमा काठमाडौं महानगरको टोली गाडीमा आउँदै गरेको भेटियो । “यतै हो बाटो ?” उनीहरूले सोधे। हामी आफैं अलिक अनभिज्ञ नै थियौँ, तर आत्मविश्वासका साथ भन्यौँ—“यतै हो, पछिपछि आउनुस्।” हामी मोटरसाईकलमा अघिअघि उनीहरु पछिपछि । केहीबेर यात्रा गर्दागर्दै उनीहरु कता हराए । हामी राति करिब ८ बजे तार्केघ्याङ पुग्यौँ। झिलिमिली बत्ती, सहरी शैलीका घरहरू, फाट्टफुट्ट गाडी र मोटरसाइकल—पहाडको काखमा एउटा आधुनिक गाउँ। तर त्यहाँबाट माथि लागेपछि हाम्रो असली “काल” सुरु भयो।
गन्ड्याङ–गुड्गुड ढुंगा सोलिङ गरिएको उबडखाबड ठाडो उकालो बाटो रातो–कालो चिम्ट्याइलो माटो भएको । दिउँसो परेको पानीले हिलाम्य बनाएको रहेछ। हाम्रो मोटरसाइकलको इन्जिनलाई लेक लाग्न थालिसकेको थियो। एक्सिलेटर घुमाउँदा बाइक “झुईँईँ… झुईँईँ ” मात्रै गर्न सुरु गर्दै छ । थोरै क्लज लिँदा उकालो चढ्नुको सट्टा अगाडिको चक्का फनक्क घुमेर तलतिरै फर्किन खोज्थ्यो । धेरैजसो यात्रु बाटोमै रोकिएका थिए। कोही मोटरसाइकल बाटैमा अलपत्र छाडेर पैदल उक्लिरहेका थिए ।

स्थानीय मोटरसाइकल चालकहरूले समेत भने—“सक्नुहुन्न होला, बाटो धेरै गाह्रो छ।”तर हामी फर्किने मनस्थितिमा थिएनौँ । कहिले बाइक चिप्लिएर अगाडिको चक्का फनक्क घुम्थ्यो, कहिले आधा चक्का हिलोमा डुब्थ्यो। सडक भन्दा बढी त्यो खेतजस्तो थियो—रोपाइँ गर्न ठिक्क पारिएको । साथीहरू पटक–पटक लडिरहेका थिए । म बिस्तारै अघि बढ्दै थिएँ । काका तीर्थनाथ कहिले बाइक घचेट्नुहुन्थ्यो, कहिले उचाल्नुहुन्थ्यो। कतै दुई जनाले बोकेरै बाइक पार गर्नुप¥यो । त्यही बीचमा काठमाडौंबाट घुम्न आएका स्कुले उमेरका केटा–केटीको जोडी भेटियो । सायद घरबाट कलेजको कार्यक्रम छ वा यस्तै केही बहाना बनाएर आएका होलान्। उनीहरूको बाइक हिलोमा आधा डुबेको थियो। हामीले सहयोग गरेर निकालिदियौँ । साथीहरू हिलोमा लतपतिए। तर बाइक निकालिसकेपछि उनीहरू धन्यवादसम्म नभनी टाप कसे । त्यो दृश्यले मनमा एउटा पीडा छोड्यो—आजको पुस्तामा सामुदायिक भावना हराउँदै गएको हो कि ? सहयोगलाई अधिकार ठान्ने, सम्बन्धलाई मनोरञ्जनमा सीमित गर्ने प्रवृत्ति बढ्दै गएको जस्तो लाग्यो । कम उमेरमै कुलत, गाँजा र अव्यवस्थित सम्बन्धमा हराउने युवाहरूको चित्र मनमा आयो ।
हामी राति ९ बजे बल्लतल्ल आमायाङ्ग्री बेस क्याम्प पुग्यौँ ।
त्यो क्षण साँच्चै ठूलो युद्ध जितेजस्तो लाग्यो । बेस क्याम्प होटलले हामीलाई स्वागत ग¥यो। हिलो पुछ्यौँ, झोला राख्यौँ, थकान मा¥यौँ अनि खाना खान बस्यौँ। त्यही बेला अर्को युवा टोली आगो ताप्दै स्पिकर बजाएर नाचिरहेको थियो। हाम्रा साथीहरू पनि तिनीसँगै नाच्न थाले । पहाडको चिसो रात संगीतले तातिरहेको थियो । सुत्नका लागि कोठाभित्र छिर्दा खाटमा गाँजाको पोको बोकेर मोल्दै रहेका स्कुले उमेरका ३ जना केटाहरू भेटिए। हामीलाई त्यहीँ बस्न भनियो । हामीले अस्वीकार ग¥यौँ ।“यहाँभन्दा हामी टेन्टमै सुत्छौ,” हाम्रै समुहको कसैले भन्यो । अन्ततः हामी टेन्टतिर लाग्यौँ । टेन्ट पनि हामीले सोचेजस्तो चिसो भने रहेनछ । हामी टेन्टभित्र छिर्यौ । त्यहाँ चार वटा बेड रहेछ । दुई–दुई जना सुत्ने निधो भयो । तर रात त्यत्तिकै शान्त कहाँ हुन्थ्यो र ? अघा खाना खाने बेला लाउड स्पिकर बजाएर नाच्ने केटीहरु हामी बस्ने भन्दा पल्लो टेन्टमा बस्ने रहेछन् । यताउताका सानो स्वरमा गरेको कुराकानी पनि प्रष्ट सुनिने । सुरुसुरुमा गुनगुन गर्दैथे । बिस्तारै आवाज बढाउँदै गीतबाट हामीतिर लक्षित प्रश्न सोझ्याउँन थाले—
“पल्लाकाको फुटेन बोली नि,
उध्रिएछ ए दाजु चोली नि…”
त्यसपछि त हाम्रो टोलीका शंकर, भूगोल र काका तीर्थनाथले जवाफ फर्काउन थाले । सुरु भयो दोहोरी गीत। हिमाली रात, टेन्टभित्रको हाँसो, बाहिरको चिसो हावा—त्यो क्षण जीवनभर नमेटिने स्मृति बन्यो।
आधा घ०टाजति पछि माहोल केही शान्त भयो । हामी बत्ती निभाएर सुत्यौँ । तर भाइ खगोलको घुर्ने आवाजले रातभर निदाउन दिएन—“घुर्र… अ…ह…ह… स्या…स्या…”हामी हाँस्दै, कराउँदै, फेरि निदाउने प्रयास गर्दै रात काट्यौँ । भोलिपल्ट बिहान ४ बजे हामी आमायाङ्ग्री शिखरतिर लाग्यौँ सुर्योदयको दृश्य मनभरी कैदगर्ने उद्देस्य सहित । समुद्री सतहबाट ३,७७१ मिटर उचाई । काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली गन्तव्य । पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकाको सीमाना पनि। दुबैले आ–आफ्नो दावी गर्ने । डेढ घ०टा उकालो हिँडाई पछि बिहान ५स्४५ मा आमायाङ्ग्री पिक पुग्यौँ । त्यो दृश्य शब्दले बयान गर्न नसकिने थियो । पूर्वदेखि पश्चिमसम्म हिउँले ढाकिएका हिमशृंखला। बौद्ध धर्मावलम्बीले टाँगेका ध्वजापताका फर्फराइरहेका। चिसो सिरेठोले अक्सिजन नै तानेजस्तो। मुटु फुट्लाजस्तो गरी धड्किरहेको।
टुप्पोमा पाँचतले तलेजु भवानीको मन्दिरझैँ देखिने कलात्मक गुम्बा। भित्र बुद्धका विभिन्न मुद्राका मूर्तिहरू । हामी त्यहाँ नाच्यौँ, गायौँ, तस्बिर खिच्यौँ, हिमाललाई मनभित्र सजायौँ।
फर्किँदा विदेशी र नेपाली पर्यटकहरूको लस्कर भेटियो। हिजो तलै रोकिएकाहरू पनि उकालो लागिरहेका थिए। हामी “वेलकम, नमस्ते” भन्दै बिस्तारै ओरालो झ¥यौँ । आज पनि लाग्छ—हजारौँ पर्वत चढ्न बाँकी छन्। तर आमायाङ्ग्रीले मनभित्र एउटा स्थायी घर बनाइसकेको छ। हामीले उसलाई जितेनौँ, बरु उसले नै जित्यो । उसले हामीलाई अझ साहसी, अझ संवेदनशील, अझ जीवनप्रेमी, अझै आत्मविश्वासी तथा ऊ जस्तै दृढ बनाएर फर्कायो।
दिउँसो आमायाङ्ग्रीबाट तल्तिर झर्दा मेरोमन कसरी पर्यटनलाई व्यवसायिक र उद्दम सिर्जनाको माध्यम बनाऊन सकिन्छ भन्ने विषयमै अल्झिएको थियो । यदि सरकारले आमा याङ्ग्रीजस्ता पर्यटकीय तथा धार्मिक गन्तव्यमा सहज आवागमन, सुरक्षित बाटो, राम्रो बासस्थान र स्थानीय उत्पादनमा आधारित खाना तथा सम्मानपुर्ण व्यबहार, विश्वासिलो सामाजिक सुरक्षाको प्रबन्ध गर्नसके, हजारौँ युवाहरुमा रोजगारी सिर्जना हुनेछ । देशमै रोजगारी पाए विदेशिएका युवाहरू नेपाल फर्किनेछन् । हाम्रा रित्तिएका गाउँहरु फेरि भरिनेछन् । अनि बन्नेछ समृद्ध नेपालः परिवारकै साथ सबै रमाउँन सके तब हुनेछन् सुखी नेपाली । नत्र, पहाडका गाउँहरू खाली हुँदै जानेछन्, युवाहरूमा गाँजाको धुवा िभत्र आफ्नै भविष्य हराउँदै जानेछ। युवाको भविष्यसँगै देशपनि वर्बादी तिर धकेलिनेछ । आमायाङ्ग्रीको चुचुरोबाट फर्किँदा मैले केवल सिन्धुपाल्चोक होइन, हाम्रो समाजको वर्तमान र भविष्य पनि नियालेर फर्किएको थिएँ । अस्तु…..
(मिति ः २०८३ जेठ ८ र ९ गते)
१२ जेष्ठ २०८३, मंगलवार ०६:०३