आमाको दूधको महत्व र लागूऔषध दुर्व्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आईसिँ तामाङ, सिन्धुपाल्चोक।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचारप्रसार तथा बिक्री–वितरण नियन्त्रणका कानुनी पक्ष र लागूऔषध दुर्व्यसन नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो।


कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँ ले आमाको दूध नवजात शिशुको लागि सबैभन्दा सुरक्षित, पोषणयुक्त र जीवनरक्षक आहार भएको बताउनुभयो। उहाँले शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गर्नुपर्ने तथा कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस रहेको जानकारी दिनुभयो। आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै कुपोषण, संक्रमण तथा विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।


उहाँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ लामो समयअघि बने पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अब ऐन कार्यान्वयनलाई व्यवहारिक रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो। ऐनबारे पर्याप्त जानकारी नहुँदा स्वास्थ्य क्षेत्र र व्यवसायिक क्षेत्रबाट समेत अनजानमै कानुन विपरीत गतिविधि हुने गरेको भन्दै सबै सरोकारवाला पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो।


त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) जिसी शाह ले लागूऔषध दुर्व्यसन वर्तमान समाजको गम्भीर चुनौतीका रूपमा रहेको बताउनुभयो। उहाँले गाँजा, चरेस, अफिम, विभिन्न प्रकारका क्याप्सुल तथा अन्य लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राख्नुभयो। युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन अभिभावक, शिक्षक, समुदाय तथा राज्यका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले आमाको दूधको महत्वबारे घरघरमा जनचेतना फैलाउनुपर्ने, शिशुलाई स्वस्थ जीवनको आधार दिन स्तनपानलाई प्राथमिकता दिनुपर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध समाजका सबै तह र तप्काले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले कानुनी व्यवस्था, स्वास्थ्य शिक्षा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अगाडि बढाउन सके मात्र स्वस्थ, सचेत र समुन्नत समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरेका थिए।


कार्यक्रममा सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतम, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्य, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विवेक भण्डारी, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईँ, विभिन्न स्वास्थ्यकर्मी, मेडिकल व्यवसायी, आमा समूहका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
मातृ तथा शिशु स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन र लागूऔषधमुक्त समाज निर्माणका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम भव्य तथा फलदायी रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

२१ जेष्ठ २०८३, बिहीबार १७:५४