काठमाडौँ । ‘बासमती’ चामलको नाम भारतले मात्रै प्रयोग गर्न पाउने गरी ट्रेडमार्कका रूपमा सुरक्षित गर्न खोजेको प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ। अदालतले ‘बासमती’ शब्दलाई भारतको कुनै एक निकायले मात्र नियन्त्रण गर्न सक्ने आधार नरहेको ठहर गरेको हो।
भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपिडा) ले अस्ट्रेलियामा ‘BASMATI’ शब्दलाई प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न माग गर्दै दिएको पुनरावेदन अदालतले खारेज गरेको हो।
न्यायाधीश डाउलिङले मंगलबार सुनाएको फैसलामा एपिडाले प्रमाणित गरेको चामल र अन्य बासमती चामलबीच उपभोक्ताले स्पष्ट रूपमा छुट्याउन सक्ने अवस्था नरहेको उल्लेख गरिएको छ।
भारतको मात्र उत्पादन होइन
अदालतले बासमती चामलको उत्पादन क्षेत्र भारत र पाकिस्तानका भूभाग समेटिएको सिन्धु–गंगा मैदानसँग जोडिएको तथ्यलाई आधार बनाएको छ। बासमतीका लामो तथा पातला दाना, विशिष्ट सुगन्ध, नरम बनोट र केही बाङ्गिएको आकारजस्ता विशेषता हुने फैसलामा उल्लेख छ।
अदालतका अनुसार अस्ट्रेलियाली बजारमा भारतबाट ठूलो परिमाणमा बासमती चामल आउने भए पनि ‘बासमती’ शब्द सुन्नासाथ त्यसलाई एपिडाले प्रमाणित गरेको उत्पादनसँग मात्र जोड्ने अवस्था देखिएन।
भारत र पाकिस्तान दुवै क्षेत्रमा उत्पादन हुने बासमतीमा समान विशेषता पाइने भएकाले एपिडाले प्रमाणित गरेको चामललाई मात्र ‘बासमती’ भनेर छुट्याउन नसकिने अदालतको निष्कर्ष छ।
एपिडाले उपभोक्तामाझ गरेको सर्वेक्षणलाई समेत अदालतले पर्याप्त प्रमाणका रूपमा स्वीकार गरेन। त्यसबाट ‘बासमती’ शब्द एपिडाको प्रमाणीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको पुष्टि नभएको फैसलामा उल्लेख छ।
लामो कानुनी प्रक्रिया
एपिडाले सन् २०१८ अगस्ट २८ मा अस्ट्रेलियाको ट्रेडमार्क रजिस्ट्रारसमक्ष ‘BASMATI’ शब्दलाई चामलसम्बन्धी प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएको थियो।
तर अस्ट्रेलियाको ट्रेडमार्क रजिस्ट्रारका प्रतिनिधिले सन् २०२२ डिसेम्बर २२ मा आवेदन अस्वीकार गरे। त्यसपछि एपिडा सन् २०२३ मा संघीय अदालत पुगेको थियो।
अदालतले अन्ततः ट्रेडमार्क ऐन १९९५ को दफा १७७ अनुसार उक्त शब्दलाई एपिडाको प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न नमिल्ने निष्कर्ष निकालेको हो। अदालतले एपिडालाई मुद्दाको खर्चसमेत प्रतिवादीलाई तिर्न आदेश दिएको छ।
पाकिस्तानले गर्यो फैसलाको स्वागत
अस्ट्रेलियाली अदालतको निर्णयपछि पाकिस्तानले फैसलाको स्वागत गरेको छ। पाकिस्तानी वाणिज्य मन्त्रालयले यो निर्णयले बासमती भारत र पाकिस्तान दुवैसँग सम्बन्धित भौगोलिक तथा कृषि विरासत भएको आफ्नो दाबीलाई बल पुगेको जनाएको छ।
पाकिस्तानको भनाइमा कुनै एक देशको सरकारी निकायले ‘बासमती’ नाममा अन्य वैधानिक उत्पादक तथा निर्यातकर्तालाई रोक लगाउने गरी एकाधिकार कायम गर्न सक्दैन।
पाकिस्तानी वाणिज्यमन्त्री जम कमाल खानले फैसलालाई आफ्नो देशको कृषि विरासत, निर्यात पहिचान र व्यावसायिक हितका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
यो फैसला भारत र पाकिस्तानबीच बासमतीको उत्पत्ति तथा अन्तर्राष्ट्रिय बजारमा यसको नाम प्रयोगसम्बन्धी लामो समयदेखिको विवादका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। नेपालमा उत्पादन तथा प्याकेजिङ गरिएका बासमती चामलमा समेत भारतले आपत्ति जनाउँदै आएको सन्दर्भमा अस्ट्रेलियाली अदालतको पछिल्लो निर्णयले थप बहसको आधार तयार गर्न सक्ने विज्ञहरूको धारणा छ।
२७ श्रावण २०८३, बुधबार २०:५६