सुनिता रखाल चौतारा ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्यले पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्लास्थित जनस्वास्थ्य कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाभित्र क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख तथा सम्बन्धित शाखाका स्वास्थ्यकर्मीहरूले आर्थिक वर्षभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा प्रस्तुत गरेका थिए। प्रस्तुतिका क्रममा जिल्लामा सञ्चालित खोप कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, पोषण सुधार अभियान, परिवार नियोजन, सुरक्षित मातृत्व, सरुवा तथा नसर्ने रोग नियन्त्रण, स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्य सचेतना तथा जनचेतनामूलक कार्यक्रमलगायतका गतिविधिबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यालयका प्रतिनिधिहरूले स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, गर्भवती तथा सुत्केरी महिलालाई प्रदान गरिएका सेवा, बाल स्वास्थ्य सुधार तथा पोषण प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिएका थिए। दुर्गम बस्तीका नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्यकर्मीहरू निरन्तर परिचालित रहेको तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न विभिन्न अभियान सञ्चालन गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो।
अन्तरक्रियाका क्रममा पत्रकार तथा सञ्चारकर्मीहरूले जिल्लाको स्वास्थ्य अवस्थासँग सम्बन्धित विविध विषयमा जिज्ञासा राखेका थिए। स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन, दुर्गम क्षेत्रमा सेवा प्रवाह, औषधि उपलब्धता, स्वास्थ्य पूर्वाधारको अवस्था, मातृ मृत्युदर न्यूनीकरण, बाल स्वास्थ्य, पोषण सुधार तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितालगायतका विषयमा प्रश्न उठाइएको थियो। सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक सुधारका पक्षहरूबारे पनि सुझाव दिएका थिए।

जवाफमा जनस्वास्थ्य कार्यालयका प्रमुख तथा स्वास्थ्यकर्मीहरूले जिल्लाको भौगोलिक विकटता, सीमित स्रोतसाधन तथा जनशक्ति अभावका बाबजुद नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको बताएका थिए। स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई क्रमशः समाधान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा कार्यालय केन्द्रित रहेको जानकारी पनि दिइएको थियो।

कार्यक्रममा आगामी आर्थिक वर्षका प्राथमिकताबारे समेत चर्चा गरिएको थियो। स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीहरूको दक्षता विकास, रोगको समयमै पहिचान र नियन्त्रण, मातृ तथा शिशु स्वास्थ्य सेवाको सुदृढीकरण, पोषण कार्यक्रमको विस्तार तथा जनचेतनामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने योजना रहेको कार्यालयले जनाएको छ। साथै समुदायस्तरमा स्वास्थ्य सम्बन्धी सही जानकारी प्रवाह गर्न सञ्चारमाध्यमसँग सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
वक्ताहरूले स्वास्थ्य सेवा केवल सरकारी निकायको प्रयासबाट मात्र प्रभावकारी नहुने भन्दै समुदाय, सञ्चारमाध्यम, स्थानीय तह तथा सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। विशेषगरी स्वास्थ्यसम्बन्धी सही, सन्तुलित र तथ्यपरक सूचना नागरिकसम्म पु¥याउन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै जनस्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरूको सहयोगप्रति धन्यवाद व्यक्त गरेको थियो।

कार्यक्रमका सहभागी पत्रकारहरूले पनि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सूचना तथा तथ्यांकलाई नागरिकसम्म विश्वसनीय ढंगले पु¥याउने प्रतिबद्धता जनाएका थिए। उनीहरूले स्वास्थ्य क्षेत्रका सकारात्मक उपलब्धिसँगै सुधार गर्नुपर्ने पक्षलाई पनि जिम्मेवार ढंगले उजागर गर्दै जनस्वास्थ्य सेवाको प्रभावकारिता बढाउन सञ्चारमाध्यमले रचनात्मक भूमिका निर्वाह गर्ने बताएका थिए।
आयोजकका अनुसार यस्ता अन्तरक्रिया कार्यक्रमले स्वास्थ्य क्षेत्रका गतिविधिलाई थप पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ। स्वास्थ्य सेवा सम्बन्धी उपलब्धि, चुनौती र आगामी योजनाबारे सञ्चारकर्मीहरूलाई प्रत्यक्ष जानकारी गराउँदा सही सूचना प्रवाह हुने तथा नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रका गतिविधि, उपलब्धि तथा योजनाबारे नियमित रूपमा सञ्चारमाध्यमसँग समन्वय र अन्तरक्रिया गर्दै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।
९ असार २०८३, मंगलवार १४:११