स्थानीय सरकार मूल्यांकनमा मेलम्ची नगरपालिका उत्कृष्ट दशभित्र पर्न सफल

जनतापत्र, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थानीय सरकारहरूको एकीकृत कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट १० स्थानीय तहभित्र पर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदनअनुसार मेलम्ची नगरपालिकाले ९०.७३ अंक प्राप्त गर्दै उल्लेखनीय स्थान हासिल गरेको हो।

प्रतिवेदनमा स्थानीय तहहरूको संस्थागत क्षमता, वित्तीय अनुशासन तथा सेवा प्रवाहको अवस्थालाई आधार बनाएर मूल्यांकन गरिएको छ। यस वर्ष पहिलो पटक संस्थागत क्षमता स्व–मूल्यांकन र वित्तीय सुशासन जोखिम मूल्यांकनलाई एकीकृत गरी समग्र नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

देशभरका ७५३ स्थानीय तहमध्ये धादिङको नीलकण्ठ नगरपालिकाले ९४.४० अंकसहित पहिलो स्थान हासिल गरेको छ भने मधेश प्रदेशको सोनमा गाउँपालिका सबैभन्दा कम अंक प्राप्त गर्ने स्थानीय तह बनेको छ।

मूल्यांकन प्रणालीमा कुल १०० अंक निर्धारण गरिएको थियो, जसमा संस्थागत क्षमतालाई ७० प्रतिशत र वित्तीय सुशासनलाई ३० प्रतिशत भार दिइएको छ। प्रतिवेदनले धेरै स्थानीय तहहरू समन्वय, वित्तीय व्यवस्थापन तथा न्यायिक कार्यसम्पादनका क्षेत्रमा अझै सुधार आवश्यक रहेको औंल्याएको छ।

मन्त्रालयले स्थानीय सरकारहरूको प्रभावकारिता बढाउन कार्यसम्पादनका आधारमा अनुदान, प्रोत्साहन र सहयोग वितरण गर्नुपर्ने सुझाव समेत दिएको छ। मेलम्ची नगरपालिकाको उत्कृष्ट नतिजाले स्थानीय शासन, विकास व्यवस्थापन र सेवा प्रवाहमा सकारात्मक उपलब्धि हासिल भएको संकेत गरेको छ।

२६ जेष्ठ २०८३, मंगलवार १५:०७