काठमाडौं। भोटेकोसी नदीमा आएको ठूलो बाढीपछि सिन्धुपाल्चोकसहित प्रभावित जिल्लामा देखिएको मानवीय संकटबारे सरकार र जनप्रतिनिधिबीच सिंहदरबारमा गम्भीर छलफल भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाउनेदेखि आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी बलियो बनाउने विषयमा छलफल केन्द्रित थियो।
काठमाडौं। भोटेकोसी नदीमा आएको ठूलो बाढीपछि सिन्धुपाल्चोकसहित प्रभावित जिल्लामा देखिएको मानवीय संकटबारे सरकार र जनप्रतिनिधिबीच सिंहदरबारमा गम्भीर छलफल भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाउनेदेखि आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी बलियो बनाउने विषयमा छलफल केन्द्रित थियो।
नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारसँग भेट गरेपछि काठमाडौं फर्किएका नेकपाका प्रमुख सचेतक युवराज दुलाल र पूर्वप्रतिनिधिसभा सदस्य माधव सापकोटाले सम्बन्धित सरकारी अधिकारीसँग तत्काल छलफल गरेका हुन्।
छलफलमा सिन्धुपाल्चोकका मात्रै २४४ जना व्यक्ति अझै सम्पर्कमा नआएको विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। बाढीमा चालक, मजदुर, व्यवसायी तथा तीर्थयात्रीसमेत प्रभावित भएको भन्दै खोजी कार्यलाई थप प्रभावकारी बनाउन सरकारी संयन्त्र, आवश्यक जनशक्ति र आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्न दुलालले आग्रह गरेका छन्।
प्रभावितलाई तत्काल राहत आवश्यक
बाढीबाट घरबारविहीन तथा विभिन्न स्थानमा अलपत्र परेका नागरिकलाई तत्काल आधारभूत राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ। प्रभावितलाई खाना, बस्ने सुरक्षित स्थान र आवश्यक कपडाको व्यवस्था गर्न गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई थप सक्रिय बनाउने सहमति भएको बताइएको छ।
यातायातका बाटो र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धारमा थप समस्या देखिएको भन्दै वैकल्पिक सडक तथा सम्पर्क मार्ग तत्काल सञ्चालनमा ल्याउन माग गरिएको छ। गम्भीर अवस्थामा रहेका नागरिकको उद्धारका लागि हवाई माध्यमको प्रयोग अझ विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ।
माधव सापकोटाले सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा राहत तथा पुनर्निर्माणका कामलाई अलग–अलग ढंगले भन्दा समन्वित रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनका अनुसार विपद् प्रभावित क्षेत्रमा राज्यका विभिन्न निकायबीच प्रभावकारी समन्वय कायम गरी एउटै कमाण्ड संरचनाबाट काम अघि बढाउन आवश्यक छ।
सरकारी अधिकारीहरूले पनि उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखिएको र आवश्यकता अनुसार प्रभावित क्षेत्रमा थप स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
लार्चादेखि दोलालघाटसम्म पूर्वसूचना प्रणालीको माग
बैठकमा तत्कालको उद्धार र राहतसँगै भविष्यमा बाढीबाट हुने क्षति घटाउने दीर्घकालीन उपायबारे पनि चर्चा भएको थियो।
भोटेकोसीको माथिल्लो क्षेत्रमा बाढी वा नदीको बहावमा असामान्य वृद्धि हुँदा त्यसको जानकारी तल्लो तटीय क्षेत्रमा समयमै पुग्न सके ठूलो मानवीय क्षति रोक्न सकिने भन्दै लार्चादेखि दोलालघाटसम्म अत्याधुनिक पूर्वसूचना प्रणालीसहित साइरन जडान गर्न माग गरिएको छ।
जनप्रतिनिधिहरूका अनुसार यस्तो प्रणाली सञ्चालनमा आए नदी किनारमा बसोबास गर्ने हजारौँ नागरिकले सम्भावित जोखिमबारे समयमै जानकारी पाउन सक्नेछन्। त्यसबाट बाढी आउनुअघि सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ।
बैठकमा सहभागी नेताहरूले अहिलेको विपद्को उद्धारलाई मात्र प्राथमिकता नदिई भविष्यमा दोहोरिन सक्ने यस्ता प्राकृतिक जोखिमका लागि पूर्वतयारी, सूचना प्रणाली र स्थानीय तहको क्षमता विस्तारमा समेत सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
१७ भाद्र २०८३, बुधबार ०९:५१