थाङपालधाप, । जनैपूर्णिमाका अवसरमा पाँचपोखरी क्षेत्रमा भएको हिंसात्मक घटनापछि पाँचपोखरी थाङपाल गाउँपालिकाले घाइतेहरूको उद्धार तथा उपचारलाई प्राथमिकतामा राखेको जनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले आगामी दिनमा धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा अझ मजबुत बनाउने बताएका छन्।
भदौ १२ गते पाँचपोखरीमा जनैपूर्णिमा मनाउन पुगेका मानिसबीच भएको घटनामा केही व्यक्ति घाइते भएका थिए। दुर्गम क्षेत्रमा घटना भएकाले घाइतेलाई तत्काल सुरक्षित स्थानमा ल्याउनु चुनौतीपूर्ण बनेको गाउँपालिकाले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा पाँचपोखरी संरक्षण क्षेत्र विकास समितिसँग समन्वय गरेर उद्धार प्रक्रिया अघि बढाइएको थियो। नेपाली सेना र गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य शिविरबाट घाइतेलाई प्रारम्भिक उपचारसमेत दिइएको थियो।
गम्भीर घाइतेलाई हवाई माध्यमबाट बाहिर लैजाने प्रयास भए पनि मौसमले साथ नदिँदा योजना तत्काल कार्यान्वयन हुन सकेन। बाक्लो हुस्सु र प्रतिकूल मौसमका कारण हेलिकोप्टर अवतरण गर्न नसकेपछि वैकल्पिक रूपमा स्थलमार्गबाट उद्धार गर्नुपरेको गाउँपालिकाले जनाएको छ।
स्थानीय होटल व्यवसायी र अन्य सहयोगीको साथ लिएर घाइतेलाई दुर्गम तथा कठिन बाटोबाट करिब ६ घण्टा बोकेर देउरालीसम्म ल्याइएको थियो। त्यहाँबाट सडकमार्ग हुँदै अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।
गम्भीर अवस्थामा रहेका एक घाइतेलाई एम्बुलेन्सबाट काठमाडौं पठाइएको थियो। अन्य घाइतेलाई गाउँपालिकाको जेसीबीको सहयोगमा सडकसम्म ल्याएर धुलिखेल अस्पताल पुर्याइएको थियो। थप उपचार आवश्यक रहेका घाइतेलाई समेत काठमाडौं पठाउने व्यवस्था गरिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिका अध्यक्ष लामाले विकट भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच पनि उपलब्ध साधनस्रोत परिचालन गरेर घाइतेको उद्धारमा स्थानीय तहले निरन्तर काम गरेको बताए।
उनले धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी क्षेत्रमा भविष्यमा यस्ता घटना नहोस् भन्ने विषयमा गाउँपालिका गम्भीर रहेको उल्लेख गरे। यसका लागि सुरक्षा, स्वास्थ्य सेवा र पर्यटक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्षसँग छलफल गरेर दीर्घकालीन योजना बनाइने उनको भनाइ छ।
घटनामा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्नेमा गाउँपालिकाले जोड दिएको छ। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियामा प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि स्थानीय सरकारले जनाएको छ।
अध्यक्ष लामाले घटनाबाट प्रभावित परिवार तथा घाइतेप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, उद्धारका क्रममा सहयोग पुर्याउने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, संरक्षण समिति, होटल व्यवसायी र स्थानीय नागरिकप्रति धन्यवाद व्यक्त गरेका छन्।
१६ भाद्र २०८३, मंगलवार १७:१३