मेलम्ची, रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मेलम्चीमा आर्थिक सहयोग संकलन गरिएको छ। मेलम्चीका स्थानीयले सञ्चालन गरेको अभियानबाट १ लाख ४ हजार १६५ रुपैयाँ संकलन भएको छ।
२०७८ सालको विनाशकारी मेलम्ची बाढीबाट प्रभावित तथा मेलम्ची पुनर्निर्माण अभियन्ता सागरकुमार श्रेष्ठको नेतृत्वमा सोमबार मेलम्ची बजारमा सहयोग संकलन अभियान चलाइएको थियो।
अभियानबाट उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केही वर्षअघि मेलम्चीमा आएको विपद्का बेला देश तथा विदेशबाट प्राप्त आर्थिक तथा अन्य सहयोगले प्रभावित परिवारलाई राहत दिनुका साथै पुनःस्थापना र पुनर्निर्माणका काममा ठूलो टेवा पुगेको थियो।
त्यही समयमा आफूहरूले पाएको सहयोगलाई सम्झँदै अहिले अर्को विपद्मा परेका रसुवाका नागरिकलाई आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले अभियान सुरु गरिएको श्रेष्ठले बताए।
श्रेष्ठले विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै मेलम्चीका बाढी प्रभावित नागरिकबाटै सुरु गरिएको यो अभियानले आपत्मा एकअर्कालाई सहयोग गर्ने संस्कारलाई निरन्तरता दिएको बताए।
संकलित रकम रसुवाका बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा उपयोग हुने अपेक्षा गरिएको छ।
१६ भाद्र २०८३, मंगलवार १७:२३