सिन्धुपाल्चोकका २२४ जना अझै सम्पर्कविहीन

सिन्धुपाल्चोक — रसुवामा आएको भीषण बाढीपछि सिन्धुपाल्चोकका २२४ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीन हुनेमा कैलाश मानसरोवर जाने विदेशी पर्यटकका गाइड तथा भरिया, व्यापारी, गोसाइँकुण्ड जाने तीर्थयात्री, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा रसुवा भन्सार कार्यालय आसपास व्यापारिक गतिविधिमा संलग्न नागरिक रहेका छन्।

प्रशासनका अनुसार सम्पर्कविहीन हुनेमा भोटेकोसी गाउँपालिकाका ७०, बाह्रबिसे नगरपालिकाका ५८, बलेफी गाउँपालिकाका ३४, जुगल गाउँपालिकाका १५, सुनकोसी गाउँपालिकाका १४, चौतारा साँगाचोकगढी नगरपालिकाका १२, लिसंखुपाखर गाउँपालिकाका ३ र अन्य स्थानका १८ जना छन्।

यसैबीच, भोटेकोसी गाउँपालिकाका तीन जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उद्धारपछि घर फर्किने क्रममा रहेका सिन्धुपाल्चोकवासीलाई जिल्लासम्म ल्याउन बाह्रबिसे नगरपालिकाले तीनवटा बस रिजर्भ गरी गल्छीसम्म पठाएको छ।

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले काठमाडौं पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनले टिचिङ अस्पताल र वीर अस्पतालमा उपचाररत घाइतेसँग भेट गरी आवश्यक सहयोग तथा समन्वय गरिरहेका छन्।

११ भाद्र २०८३, बिहीबार १४:१२