आफन्तको तस्बिर बोकेर शवगृहबाहिर कुरिरहेका परिवार

चितवन — भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको खोजी गर्दै परिवार तथा आफन्तहरू भरतपुर अस्पतालको शवगृहबाहिर भेला भएका छन्।

बिहीबार बिहानै भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा आफ्ना आफन्त माधव न्यौपाने र सबिन न्यौपानेको तस्बिर बोकेर अस्पताल पुगे। दुवै लिलावतीका भाइ हुन्। बुधबार तिब्बत हुँदै नेपालतर्फ आएको बाढीमा परेपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

परिवारका अनुसार माधव चीन–नेपालबीचको आयात–निर्यात व्यवसायमा संलग्न थिए भने सबिन बैंकमा कार्यरत थिए। बाढीपछि उनीहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

बाढीपछि संकलन गरी भरतपुर अस्पताल ल्याइएका शवहरू परिवारका सदस्यहरूले हेरे पनि माधव र सबिनलाई भेट्टाउन सकेनन्। अस्पतालमा रहेका केही शवको अवस्था अत्यन्तै विक्षिप्त रहेको आफन्तहरूले बताएका छन्।

शवगृहबाहिर बेपत्ता आफन्तका तस्बिर बोकेर बसेका परिवारको भीडले घटनाको पीडा झनै गहिरो बनाएको छ। कसैले फोटो प्रिन्ट गरेर ल्याएका छन् भने कसैले मोबाइलमै आफन्तको तस्बिर देखाउँदै पहिचानको प्रयास गरिरहेका छन्। परिवारहरू अझै आफ्ना प्रियजन भेटिने आशामा अस्पताल परिसरमा कुरिरहेका छन्।

११ भाद्र २०८३, बिहीबार १४:००