सुनिता रखाल, चौतारा ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले विभेदकारी विज्ञापन नीति तत्काल फिर्ता लिन माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको छ।

सरकारले लागू गरेको विज्ञापन नीतिले मोफसलका सञ्चारमाध्यमलाई प्रत्यक्ष असर पार्ने, प्रेस स्वतन्त्रता कमजोर बनाउने तथा साना तथा स्थानीय सञ्चारमाध्यमलाई विस्थापित गर्ने खतरा रहेको भन्दै महासंघले विरोध जनाएको हो। कार्यक्रममा पत्रकारहरूले निष्पक्ष र न्यायपूर्ण विज्ञापन वितरण प्रणाली लागू गर्नुपर्ने माग गरेका थिए।
महासंघका पदाधिकारी तथा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा “विभेदकारी विज्ञापन नीति फिर्ता गर”, “स्वतन्त्र प्रेस, स्वतन्त्र समाज” तथा “न्यायपूर्ण विज्ञापन नीति हाम्रो अधिकार” लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराइएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र सबल सञ्चार क्षेत्र अपरिहार्य रहेको उल्लेख गर्दै विज्ञापन वितरणमा समान अवसर सुनिश्चित गर्न सरकारसँग माग गरे। उनीहरूले स्थानीय सञ्चारमाध्यमको अस्तित्व र दिगोपनाका लागि विभेदकारी व्यवस्था हटाउनुपर्ने धारणा व्यक्त गरे।
महासंघले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ। ध्यानाकर्षण कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

२८ जेष्ठ २०८३, बिहीबार ११:०१