भुमेस्थान पोषण पाठशाला समापन तथा पोषण पाठशाला दिवस सम्पन्न


जनतापत्र,सिन्धुपाल्चोक ।
त्रिपुरासुन्दरी गाउँपालिका–४ मा सञ्चालित भुमेस्थान पोषण पाठशालाको समापन समारोह तथा पोषण पाठशाला दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


भुमेस्थान पोषण पाठशालाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष गीता कुमारी नेपालको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूहका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समारोहमा वक्ताहरूले सन्तुलित तथा पोषणयुक्त खानपानको महत्वबारे चर्चा गर्दै मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले स्थानीय स्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।


पोषण पाठशालामार्फत समुदायका महिला, गर्भवती तथा सुत्केरी आमा, बालबालिकाका अभिभावक लगायतलाई स्वस्थ खानपान, सरसफाइ तथा पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले पोषणसम्बन्धी सिकाइलाई व्यवहारमा उतार्दै कुपोषण न्यूनीकरण तथा स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि बोहराले पोषणमैत्री समाज निर्माणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, समुदाय तथा सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए। कार्यक्रमले स्थानीय स्तरमा स्वस्थ खानपानको प्रवद्र्धन, पोषणयुक्त आहारको प्रयोग तथा मातृ एवं बाल स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

२९ जेष्ठ २०८३, शुक्रबार १०:४०