जनतापत्र,चौतारा ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाभर निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेद्वारा जारी सूचनामा विगत २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भएको र जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिन पनि केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
सूचनाअनुसार हाल भोटेकोशी, मेलम्ची र इन्द्रावती नदीको जलसतह सामान्य अवस्थामा रहे पनि निरन्तर वर्षाका कारण आगामी दिनमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। विशेषगरी तातोपानी, लार्चा, हिन्दी, बाह्रबिसे बजार, खाडीचौर, सुकुटे, इन्द्रावती नदी आसपासका पाँचपोखरी थाङपाल गाउँपालिकाका क्षेत्र, ब्राह्मणी नदी तटीय क्षेत्र, हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाको मेलम्ची नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।
त्यसैगरी बनेपा–कोदारी सडक, मेलम्ची–हेलम्बु सडक, मेलम्ची–भोताङ सडक तथा बलेफी–जुगल सडक लगायतका सडकहरू पहिरो वा बाढीका कारण अवरुद्ध हुन सक्ने सम्भावना रहेको जनाउँदै अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ। यात्रा गर्नै परेमा सम्बन्धित सुरक्षा निकाय वा स्थानीय प्रशासनसँग सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले सुझाव दिएको छ।

निरन्तर वर्षाका कारण भिरालो भूभाग, पहिरोको उच्च जोखिम भएका स्थान तथा साना खोला–खोल्सी आसपासका क्षेत्रमा पनि जोखिम बढ्न सक्ने भएकाले सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले अपिल गरेको छ।
विपद् सम्बन्धी जानकारी तथा आपतकालीन सहयोगका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र ११४४, जल तथा मौसम विज्ञान विभाग ११५५, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा २४सै घण्टा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
२ श्रावण २०८३, शनिबार १३:४६