पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता सुरु, ७ टोलीबीच प्रतिस्पर्धा


जनतापत्र,काठमाडौं ।
सिन्धुपाल्चोकको प्रतिष्ठित पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ।


प्रतियोगिताको उद्घाटन पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले एक विशेष समारोहबीच गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
जिल्लामा क्रिकेट खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेलमार्फत आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यस वर्ष ७ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिको प्रवद्र्धनका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।


आजदेखि सुरु भएको प्रतियोगिता असार ३ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिताका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुनेछन् भने उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
पाँचपोखरी टी–२० प्रतियोगिता जिल्लाको लोकप्रिय क्रिकेट प्रतियोगितामध्ये एक मानिन्छ, जसले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।

२८ जेष्ठ २०८३, बिहीबार ११:२१