नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिडिया सम्मेलन २०८३ हेटौँडामा


सुनिता रखाल,हेटौँडा ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा “मिडिया सम्मेलन २०८३” आज हेटौँडामा सुरु भएको छ । सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नु भएको थियो ।


कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले गर्नु भएको थियो । सम्मेलनमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै प्रदेश सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चार क्षेत्रका अगुवा, मानवअधिकारकर्मी तथा विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


सम्मेलनमा प्रेस स्वतन्त्रता, सञ्चार नीति, डिजिटल पत्रकारिताका चुनौती तथा अवसर, पत्रकारहरूको पेशागत सुरक्षा, सञ्चार क्षेत्रको सुदृढीकरण र समसामयिक मिडिया मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्षहरू, प्रदेश परिषद् सदस्यहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनले पत्रकारिता क्षेत्रका चुनौती, अवसर र नीतिगत सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास गरिएको छ ।

२२ जेष्ठ २०८३, शुक्रबार १८:५७