जनतापत्र,सिन्धुपाल्चोक ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करमा अल्पसंख्यक थामी जातिको स्तरोन्नतिका लागि सञ्चालन गरिएको प्रविधि हस्तान्तरण कार्यक्रम तथा आधारभूत सिलाइ सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सञ्चालित तालिमको समापन कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजुको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा प्रमुख अतिथि, उपाध्यक्ष गीता कुमारी नेपाल विशेष अतिथि रहनुभएको थियो। साथै कार्यपालिका सदस्य ज्ञानी थामी, खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर श्रेष्ठ, गाउँपालिकाका कर्मचारी, तालिमका सहभागी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

गत वैशाख ११ गतेदेखि असार १ गतेसम्म सञ्चालन भएको उक्त तालिममा थामी समुदायका १४ जना सहभागीहरूलाई आधारभूत सिलाइसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो। तालिममार्फत सहभागीहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा प्रेरित गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
समापन कार्यक्रममा तालिममा सहभागी १४ जनालाई १४ वटा सिलाइ मेसिन, आवश्यक औजार–उपकरण तथा तालिम अवधिमा उत्पादन गरिएका कपडासमेत हस्तान्तरण गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आयआर्जन तथा व्यवसायिक प्रयोजनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष भक्तध्वज बोहराले सीपमूलक तालिमले समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्राप्त सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। उहाँले गाउँपालिकाले लक्षित समुदायको जीवनस्तर उकास्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।
तालिमले अल्पसंख्यक थामी समुदायको आर्थिक सुदृढीकरण, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ।
२ असार २०८३, मंगलवार १३:०५