चौतारा–१० का विभिन्न टोलमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–१० का वडा अध्यक्ष निलबहादुर तामाङ (सुमन) को पहलमा वडाभित्रका दुर्गम बस्तीका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी अवस्थामा रहेका तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

वडाको भौगोलिक विकटता र लाभग्राहीको सहजतालाई मध्यनजर गर्दै खत्रीथोक–सुकुटे, साठिमुरे, कार्किटार, जल्केनी, हर्रेबिसौना र हर्रेडाँडा लगायतका टोलमा पुगेर भत्ता वितरण गरिएको हो। यस अभियानबाट विशेषगरी वृद्धवृद्धा, अशक्त, बिरामी तथा टाढा रहेका नागरिकलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्।

वडा अध्यक्ष तामाङ स्वयं कर्मचारी तथा सम्बन्धित टोलीसहित प्रत्येक टोलमा पुगेर लाभग्राहीलाई भत्ता वितरण गरेका थिए। भत्ता वितरणसँगै स्थानीयको गुनासो, सुझाव र विकास निर्माणसँग सम्बन्धित आवश्यकताबारे समेत जानकारी लिइएको जनाइएको छ।

वडा अध्यक्ष तामाङले सामाजिक सुरक्षा भत्ता नागरिकको अधिकार भएकाले कुनै पनि लाभग्राही सेवा प्राप्त गर्नबाट वञ्चित हुन नहुने बताए। उनले भौगोलिक कठिनाइका कारण कार्यालयसम्म आउन नसक्ने, विशेषगरी बिरामी तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरदैलोमै सेवा प्रदान गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए। आगामी दिनमा पनि नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ।

स्थानीयवासीले वडा कार्यालयको यो पहललाई सकारात्मक रूपमा लिँदै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले विशेषगरी वृद्धवृद्धा, अशक्त र बिरामी व्यक्तिका लागि घरदैलोमै भत्ता वितरणको व्यवस्था निकै राहतदायी भएको बताएका छन्।

सामाजिक सुरक्षा भत्ता वितरणसँगै वडाले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि पाएको छ। यस क्रममा स्थानीयले सडक, खानेपानी, स्वास्थ्य, कृषि तथा अन्य विकास निर्माणका विषयमा आफ्ना समस्या र सुझाव वडा अध्यक्षसमक्ष राखेका थिए। वडा कार्यालयले प्राप्त सुझावलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै आगामी योजना तथा कार्यक्रम तय गरिने जनाएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका–१० ले पछिल्ला वर्षहरूमा सेवा प्रवाहलाई नागरिकको पहुँचसम्म पु¥याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम पनि त्यही अभियानको एक महत्वपूर्ण हिस्सा भएको वडा कार्यालयले जनाएको छ।

स्थानीय तहबाट नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले सेवाग्राहीको समय, श्रम र खर्च बचत गर्नुका साथै स्थानीय सरकारप्रतिको विश्वाससमेत मजबुत बनाएको स्थानीयको भनाइ छ। दुर्गम बस्तीमा पुगेर प्रत्यक्ष रूपमा सेवा प्रदान गर्ने यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्ने उनीहरूको अपेक्षा रहेको छ।

१४ श्रावण २०८३, बिहीबार १५:३७