जनतापत्र,सिन्धुपाल्चोक ।
वातावरण संरक्षण, भूक्षय नियन्त्रण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘सगरमाथा वृक्षारोपण महाअभियान–२०८३’ अन्तर्गत साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा सडक किनारमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। असार १५ देखि साउन १५ सम्म सञ्चालन गरिएको विशेष अभियानको समापन अवसरमा आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, जनप्रतिनिधि, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सडक किनार र सार्वजनिक क्षेत्रलाई हराभरा बनाउने, वातावरणीय सन्तुलन कायम गर्ने, भूक्षय तथा पहिरोको जोखिम न्यूनीकरण गर्ने र पर्यटकीय मार्गको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। वृक्षारोपणले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, हरियाली विस्तार गर्न तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका लागि आवश्यक बिरुवा डिभिजन वन कार्यालय सिन्धुपाल्चोक ले उपलब्ध गराएको थियो। वन कार्यालयको सहयोगले अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको भन्दै आयोजकले कार्यालयप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले वातावरण संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्रै जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताउँदै वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्न सके मात्र अभियानको वास्तविक उद्देश्य पूरा हुने उहाँको भनाइ थियो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ प्रहरी नायबको नेतृत्वमा प्रहरी टोलीको पनि सक्रिय सहभागिता रहेको थियो। प्रहरी टोलीले वृक्षारोपणमा सहभागी हुँदै वातावरण संरक्षणजस्ता सामाजिक अभियानमा सुरक्षा निकायको पनि महत्वपूर्ण भूमिका रहने सन्देश दिएको थियो।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयकी भगवती गौतम, पूर्व जनप्रतिनिधि, विभिन्न सामाजिक तथा सामुदायिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा बिरुवा रोप्दै हरित वातावरण निर्माणमा सबैको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
आयोजकका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, वन विनाश, बाढी–पहिरो तथा भूक्षयका समस्या बढ्दै गएकाले वृक्षारोपण अभियानलाई जनआन्दोलनका रूपमा अघि बढाउन आवश्यक छ। विशेषगरी राजमार्ग र ग्रामीण सडक किनारमा हरियाली विस्तार गर्न सके वातावरणीय सन्तुलन कायम हुनुका साथै सडकको सौन्दर्य बढ्ने, धुलो नियन्त्रण हुने र पर्यटकलाई आकर्षित गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा वक्ताहरूले रोपिएका बिरुवाको संरक्षण नै सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्दै केवल बिरुवा रोपेर मात्र दायित्व पूरा नहुने, त्यसलाई हुर्काउने र संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका थिए। स्थानीय समुदाय, विद्यालय, युवा क्लब तथा सामाजिक संस्थाहरूले बिरुवाको नियमित हेरचाहमा सक्रिय भूमिका खेल्नुपर्ने सुझाव पनि दिइएको थियो।
अभियानका क्रममा सहभागीहरूले “हामी सबैले एक व्यक्ति, एक बिरुवा रोपौँ र हुर्काऔँ, भविष्यले सम्मान गर्नेछ” भन्ने सन्देशलाई आत्मसात गर्दै वातावरण संरक्षणका लागि व्यक्तिगत र सामूहिक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने डिभिजन वन कार्यालय सिन्धुपाल्चोक, प्रमुख अतिथि, सुरक्षा निकाय, सरकारी कार्यालय, पूर्व जनप्रतिनिधि, विभिन्न संघसंस्था, पत्रकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
सगरमाथा वृक्षारोपण महाअभियानले हरियाली विस्तार, प्राकृतिक स्रोत संरक्षण, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा सकारात्मक सन्देश दिएको सहभागीहरूको विश्वास छ। यस्ता अभियानलाई निरन्तरता दिँदै प्रत्येक नागरिकलाई वातावरण संरक्षणसँग जोड्न सके भविष्यमा स्वच्छ, हराभरा र दिगो वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
१६ श्रावण २०८३, शनिबार १२:२९