जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

मेलम्ची नगरपालिकाको आयोजनामा तथा च्क्ष्ःभ्क् र ग्ऋब्च् को प्राविधिक सहयोगमा आयोजित मौसम पूर्वानुमान तथा जलवायु आँकलनसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख तामाङले जलवायु परिवर्तनको असर विश्वव्यापी चुनौतीका रूपमा देखापरेको उल्लेख गरे। उनले यसको प्रभाव स्थानीय तहसम्म प्रत्यक्ष रूपमा महसुस भइरहेको भन्दै जोखिम न्यूनीकरणका लागि समयमै तयारी आवश्यक रहेको बताए।
नगरप्रमुख तामाङले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाले विभिन्न नीति, योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको जानकारी दिए। उनले वैज्ञानिक आधारमा तयार गरिएका मौसम पूर्वानुमान तथा जलवायु सम्बन्धी सूचनाहरूलाई स्थानीय विकास योजना, कृषि क्षेत्र, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनका गतिविधिसँग एकीकृत गर्नुपर्नेमा जोड दिए।
उनले समयमै प्राप्त हुने मौसम सूचना र जलवायु आँकलनले सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न, जनधनको क्षति कम गर्न तथा समुदायलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय सरकार, प्राविधिक निकाय र समुदायबीचको सहकार्यले मात्र जलवायुजन्य चुनौतीहरूको प्रभावकारी सामना गर्न सकिने उनको भनाइ थियो।
कार्यशालामा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मौसम पूर्वानुमान प्रणाली, जलवायु परिवर्तनका प्रभाव, जोखिम व्यवस्थापन तथा स्थानीय तहमा उपयोग गर्न सकिने विभिन्न उपायहरूबारे छलफल गरिएको थियो।
आयोजकका अनुसार कार्यशालाले स्थानीय तहमा जलवायुसम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गर्नुका साथै विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक सूचनाको उपयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२० जेष्ठ २०८३, बुधबार ०५:३३