कोदोको बिस्कुट तथा केक बनाउने तालिम सम्पन्न


जनतापत्र,सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिका वडा नं. ४ यमुनाडाँडामा “गरिबसँग विश्वेश्वर कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको १५ दिने कोदोको बिस्कुट तथा केक बनाउने तालिम सम्पन्न भएको छ।


आर्थिक वर्ष २०८२÷०८३ को कार्यक्रमअन्तर्गत स्थानीय रैथाने बाली कोदोको उत्पादन तथा उपभोगलाई प्रवद्र्धन गर्दै नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो।


तालिम समापन कार्यक्रममा वडाध्यक्ष भोजलाल श्रेष्ठको अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना प्रमुख अतिथि र उपाध्यक्ष कान्छी लामा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा तालिममा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तिमल्सिनाले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गरी आयआर्जनसँग जोड्न यस्ता सीपमूलक तालिमहरू प्रभावकारी हुने बताउनुभयो। उहाँले कोदो जस्ता पोषणयुक्त रैथाने बालीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिमका सहभागीहरूले कोदोबाट बिस्कुट तथा केक निर्माण सम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरेको बताएका छन्। प्राप्त सीपलाई आयआर्जनको माध्यम बनाउँदै स्थानीय उत्पादनको प्रवद्र्धनमा योगदान पु¥याउने उनीहरूको विश्वास रहेको छ।
गाउँपालिकाले यस्ता सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रममार्फत स्थानीय नागरिकको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरेको छ।

२८ जेष्ठ २०८३, बिहीबार २१:४९