सुनिता रखाल सिन्धुपाल्चोक ।
बागमती प्रदेश सरकारको समुदायमा आधारित “एक वडा एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत कफी खेतीको विकास तथा किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कफी सहकारी संघ सिन्धुपाल्चोकको आयोजनामा संयुक्त कार्यक्रम अनुगमन, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक कर्मचारी, सहकारीकर्मी तथा कफी किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कफी उत्पादनलाई व्यवसायिक तथा दिगो बनाउने लक्ष्यका साथ सञ्चालित गतिविधिहरूको अनुगमन गरिएको थियो। “एक वडा एक कृषि उत्पादन” कार्यक्रमले स्थानीय स्तरमा विशेष कृषि उत्पादनको प्रवद्र्धन गरी किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेको छ।

सो अवसरमा कफी खेतीमा संलग्न किसानहरूलाई आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको थियो। वितरण गरिएका सामग्रीले कफी उत्पादनको गुणस्तर तथा उत्पादकत्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। सहभागी किसानहरूले कार्यक्रममार्फत प्राप्त सहयोगले कफी खेती विस्तार तथा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष सार्वजनिक सुनुवाइ रहेको थियो। सुनुवाइका क्रममा किसानहरूले कार्यक्रम कार्यान्वयनका अनुभव, चुनौती तथा सुझावहरू प्रस्तुत गरेका थिए। सरोकारवाला निकायका प्रतिनिधिहरूले उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी तथा किसानमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले सिन्धुपाल्चोकमा कफी उत्पादनको राम्रो सम्भावना रहेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्न, उत्पादन वृद्धि गर्न तथा कृषकको आर्थिक अवस्था सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए। कार्यक्रमले किसान, सहकारी र सरकारी निकायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै कृषि क्षेत्रको दिगो विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको थियो।
२६ जेष्ठ २०८३, मंगलवार १२:५८