जनतापत्र,सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिका वडा नं. २ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको वडा घोषणा गरिएको छ।

वडा कार्यालयको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति श्याम बहादुर गिरीको अध्यक्षता रहेको थियो भने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मिनबहादुर धामीको विशेष आतिथ्यता रहेको थियो।
घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष नेपालले शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनले शिक्षित, सक्षम र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन स्थानीय सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षाको गुणस्तर अभिवृद्धिसँगै सबै बालबालिकाको विद्यालय पहुँच सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
वडा नं. २ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको वडा घोषणा गरिनु स्थानीय तहमा शिक्षाको पहुँच विस्तार र शैक्षिक सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
२२ जेष्ठ २०८३, शुक्रबार ०६:५१