सुनिता रखाल,चौतारा, ।
३० औँ जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाभित्र अन्तरजातीय विवाह गरी सामाजिक सद्भाव, समानता र समावेशिताको उदाहरण प्रस्तुत गर्ने ११ जोडीलाई सम्मान गरिएको छ।

दलित समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा तथा नगरपालिकाको समन्वय र सहयोगमा सम्पन्न कार्यक्रममा सम्मानित जोडीहरूलाई सम्मानपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा वक्ताहरूले अन्तरजातीय विवाहले समाजमा विद्यमान जातीय विभेद, छुवाछुत तथा सामाजिक विभाजन अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
कार्यक्रममा सहभागीहरूले समानता, सामाजिक न्याय र मानव अधिकारको संरक्षणका लागि सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र सद्भाव आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। अन्तरजातीय विवाह गर्ने दम्पतीहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरिएको थियो।
चौतारा साँगाचोकगढी नगरपालिकाले जातीय विभेद तथा छुवाछुत जस्ता सामाजिक कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने उद्देश्यका साथ विगत वर्षहरूदेखि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा “जातीय विभेदमुक्त समाज निर्माण गरौँ, समानता र सद्भावको संस्कृतिलाई बलियो बनाऔँ” भन्ने सन्देशलाई आत्मसात गर्दै सबै नागरिकलाई विभेदरहित समाज निर्माणमा हातेमालो गर्न आग्रह गरिएको थियो।
२२ जेष्ठ २०८३, शुक्रबार ०७:३८