बजार अनुगमन तीव्रता दिँदै मेलम्ची नगरपालिका


जनतापत्र, मेलम्ची ।
मेलम्चीमा बजार अनुगमन तीव्र रुपमा भइरहेको छ ।
चाडपर्व लक्षित बजार अनुगमन मेलम्ची नगरपालिकाले तीव्र पारेको हो ।
यति बेला वडादशैं, दिपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गरेको अवस्थामा छ । जसले गर्दा बजारमा विभिन्न प्रकारका विकृतिहरु बढ्ने अवस्था आउनु सक्छ । जसलाई रोक्नको लागि र जनतालाई सुलभ र सहज रुपमा उपलब्ध होस् भनी अनुगमन कार्य तिव्र पारिएको हो ।

नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालका अनुसार, दशैं अघिनै नगरपालिकाका विभिन्न वडामा अनुगमन गरेको पालिकाले अहिले बाँकी रहेका वडाहरुमा समेत अनुगमन गरिएको हो ।
उहाँले मेलम्ची नगरपालिकाले यसअघि नगरपालिका क्षेत्रभित्रका मेलम्ची, बाहुनेपाटी, सिन्धुखोला, तालामाराङ, भोटेचौर, भदौरे, पिप्ले लगायतको बजार अनुगमन गरेको थियो भने आज सोमबार सेल्ले पोखरे, दुबाचौर, ज्यामिरे, शिखरपुर, क्यौरानी लगायतका बजारहरूको अनुगमन गरेको बताउनुभयो ।

उनुगमनमा राजस्व शाखा प्रमुख दुलाल,स्वास्थ्य शाखा प्रमुख अस्मिता सापकोटा,विभिन्न शाखाका कर्मचारी .,सम्बन्धीत वडाका जनप्रतिनिधिहरु,नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धिताल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शालिकराम अधिकारी,उपाध्यक्ष ज्ञानप्रासद सापकोटा पत्रकार,सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।
अनुगमनका क्रममा मिति गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गर्ने कार्य गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समयमा बजारमा दिनानुदिन मूल्यवृद्वि, कालोबजारी र अस्वभाविक मूल्यवृद्वि जस्ता क्रियाकलापहरु भइरहेका छन् । जसलाई नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र सुपथ बनाउनको लागि बजार अनुगमन गरिएका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालको भनाइ रहेको छ ।
नगरपालिकाको अनुसार, नगरपालिकाले विगतको बर्षहरुदेखि नै निरन्तर अनुगमन गरेका कारण अहिले उपभोक्ता र ब्यापारीहरुमा सचेतना फैलिएको छ ।
मिति हेरेर मात्र खपत गर्ने र बिक्रि गर्ने गरेका कारण विगतका बर्षहरुमा जस्ता अखाद्य सामाग्री जफत गर्न नपरेको नगरपालिकाले बताएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शालिकराम अधिकारीले गत बर्ष करोडौं बराबरको सामान जफत गरि नष्ट गर्ने गरेकै कारण यसबर्ष ब्यापारी र उपभोक्ताहरु दुवैमा आएको सचेतनाका कारण खासै सामान नष्ट गर्नु नपरेको जानकारी दिनुभयो ।

उहाँले विद्यालय आसपासका क्षेत्रमा भने (ड्राइ फ्रुट्स) बढि पाइएकाले अभिभावक,शिक्षक र विद्यार्थी स्वयंम सचेत रहनुपर्ने जनाउनुभयो ।
अनुमगनलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नियमित गरिने नगरपालिकाले बताएको छ ।

१३ कार्तिक २०८१, मंगलवार १२:५८