सुनकोशी गाउँपालिकाको ५७ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित


जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको गाउँ सभाको आठौँ अधिवेशनको पहिलो बैठकबाट आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल रु. ५७ करोड ७० लाख १७ हजार ९ सय बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको रु. ५७,७०,१७,९०० बराबरको बजेट विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर विनियोजन गरिएको जनाएको छ।


गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्दै जनप्रतिनिधिहरूले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गाउँपालिकाले तय गरेको “सुन्दर सुनकोशी, समृद्ध सुनकोशी र खुसी सुनकोशी” भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर आगामी वर्षका कार्यक्रम तथा योजनाहरू सञ्चालन गरिने जनाएको छ। स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै दिगो विकास, सुशासन र समृद्धिको यात्रालाई थप प्रभावकारी बनाइने गाउँपालिकाको भनाइ छ।
गाउँसभाबाट सर्वसम्मत रूपमा नीति, कार्यक्रम तथा बजेट पारित भएसँगै आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ। स्थानीयवासीले समेत पारित बजेटले गाउँपालिकाको समग्र विकास र नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।

९ असार २०८३, मंगलवार १४:२४