तिहार र छठका लागि जावलाखेलमा पुष्प मेला, ४५० प्रजातिका फूल तथा बिरुवा प्रदर्शनीमा

ललितपुर, कात्तिक १२। तिहार र छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी पुष्प मेला सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको पाँचदिने मेलामा विभिन्न प्रजातिका फूल तथा बिरुवा प्रदर्शनीमा राखिनुका साथै बिक्रीसमेत भइरहेको छ।

आयोजकका अनुसार मेलामा ८६ वटा व्यावसायिक स्टलमार्फत ४५० प्रजातिका फूल तथा बिरुवा उपलब्ध गराइएको छ। यस वर्ष नयाँ प्रजातिका फूल, पुष्पजन्य सामग्री र फूलखेतीमा प्रयोग हुने प्रविधिलाई विशेष प्राथमिकता दिइएको एसोसिएसनका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिए।

मेलाबाट करिब डेढ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ। त्यस्तै, पाँच दिनको अवधिमा झन्डै ४० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार यस वर्ष फूल तथा बिरुवाको गुणस्तर र प्रदर्शनीको व्यवस्थापनमा पनि सुधार गरिएको छ। मौसम अनुकूल रहेमा अपेक्षित कारोबार हासिल गर्न सकिने उनले बताए।

मेलामा फूल तथा बिरुवामा लाग्ने रोग पहिचान गर्न सहयोग पुग्ने डिजिटल एप निःशुल्क उपलब्ध गराइएको छ। यसका साथै विभिन्न विधामा पुष्प प्रतियोगिता पनि आयोजना गरिएको छ। फूलको प्रजाति, गुणस्तर र आकर्षणलगायतका आधारमा मूल्यांकन गरी उत्कृष्ट सहभागीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

तिहारमा उपत्यकामा ५१ लाखभन्दा बढी फूलमाला खपत हुने अनुमान

तिहारमा फूलमालाको माग बढ्ने भएकाले यस वर्ष काठमाडौं उपत्यकामा करिब ५२ लाख माला खपत हुने अनुमान गरिएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार सयपत्री, मखमली, गोदावरी र मिश्रित फूलका गरी करिब ५१ लाख ८० हजार माला आवश्यक पर्ने अनुमान छ। तिहार र छठलाई लक्षित गरी आयोजना गरिएको पुष्प मेलाले उपभोक्तालाई विभिन्न प्रकारका फूल तथा बिरुवा छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

१३ कार्तिक २०८३, बिहीबार १८:४४