काठमाडौँ । देशभरका प्रमुख नदीहरूमा अहिले बाढीको अवस्था सामान्य रहे पनि पहाडी तथा हिमाली क्षेत्रमा रहेका साना नदी र खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम कायमै रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीलगायत ठूला नदीको जलसतह हाल सतर्कता तहभन्दा तल रहेको छ। ती नदीका सहायक खोलानालामा समेत पानीको बहाव सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि तत्काल ठूलो बाढीको सम्भावना नरहेको पूर्वानुमान गरिएको छ। ठूला नदीको अवस्था तुलनात्मक रूपमा सुरक्षित देखिए पनि पहाडी क्षेत्रमा हुने वर्षाका कारण साना नदी तथा खोलामा भने पानीको बहाव छोटो समयमै बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार देशका विभिन्न ३२ जिल्लाबाट बहने साना नदी तथा खोलामा जलसतह बढ्ने सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ र संखुवासभाका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ।
बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनका साना नदी तथा खोलामा पनि जलसतह बढ्न सक्ने पूर्वानुमान छ।
गण्डकी तथा लुम्बिनी र कर्णाली क्षेत्रका विभिन्न जिल्लामा समेत आकस्मिक बाढीको सम्भावना औँल्याइएको छ। गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख र सुर्खेतका आसपासका खोलामा पानीको बहाव अचानक बढ्न सक्ने बताइएको छ। यसैगरी सुदूरपश्चिमका बझाङ र डोटीमा पनि साना नदी तथा खोलामा मध्यम जोखिम रहेको जनाइएको छ।
मौसममा आउन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिनसम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार र बिहीबार कोशी तथा गण्डकी प्रदेश भएर बहने केही साना नदी र खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी नदी तथा खोला किनार, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकले मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। सामान्य अवस्थामा देखिए पनि साना खोलामा पानीको सतह केही समयमै बढ्न सक्ने भएकाले यात्रा गर्दा तथा नदी तर्ने क्रममा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

२६ श्रावण २०८३, मंगलवार ११:१३