जनतापत्र,सिन्धुपाल्चोक ।
नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा अन्य बोटबिरुवा रोपिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यको नेतृत्वमा सम्पन्न कार्यक्रममा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) जेसी शाहसहित कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यालय परिसरका विभिन्न स्थानमा फलफूल तथा अन्य उपयोगी बिरुवा रोप्दै वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा प्रहरी उपरीक्षक काजी कुमार आचार्यले वृक्षारोपण केवल औपचारिक कार्यक्रम नभई भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माण गर्ने महत्वपूर्ण अभियान भएको बताउनुभयो। उहाँले एक व्यक्तिले रोपेको एउटा बिरुवाले भविष्यमा वातावरणीय सन्तुलन कायम राख्न, अक्सिजन उत्पादन गर्न, माटो संरक्षण गर्न तथा जैविक विविधताको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने उल्लेख गर्नुभयो।

उहाँले जलवायु परिवर्तनका कारण विश्वभर देखिएका चुनौती न्यूनीकरणका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट वृक्षारोपण तथा बिरुवा संरक्षणमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाह गरिए मात्र कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले वृक्षारोपण अभियानले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै प्रहरी संगठनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने विश्वास व्यक्त गरेका थिए। कार्यालय परिसर हराभरा बन्नुका साथै फलफूलका बिरुवाले भविष्यमा उपयोगी प्रतिफलसमेत दिने अपेक्षा गरिएको छ।
नेपाल प्रहरी श्रीमती संघले स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष सामाजिक, मानवीय तथा वातावरणमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको वार्षिकोत्सवका अवसरमा देशका विभिन्न प्रहरी इकाइहरूमा वृक्षारोपण, सरसफाइ, रक्तदान तथा सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्। सोही अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा रोपिएका बिरुवामा विभिन्न प्रजातिका फलफूलका साथै वातावरणीय दृष्टिले महत्वपूर्ण अन्य बोटबिरुवासमेत रहेका छन्। यस्ता बिरुवाले आगामी वर्षहरूमा कार्यालय परिसरलाई हरियाली बनाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
वृक्षारोपण कार्यक्रमले प्रहरी संगठन केवल शान्ति सुरक्षा कायम गर्ने निकाय मात्र नभई वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यमा समेत उत्तिकै सक्रिय रहेको सन्देश दिएको सहभागीहरूको भनाइ थियो। प्रहरी कर्मचारीहरूले आगामी दिनमा पनि यस्ता जनहितकारी तथा वातावरणमैत्री अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जलवायु परिवर्तन, वन विनाश र बढ्दो प्रदूषणका कारण वातावरण संरक्षण आज विश्वव्यापी चुनौतीका रूपमा रहेको अवस्थामा यस्ता वृक्षारोपण कार्यक्रमले हरियाली प्रवद्र्धनसँगै वातावरणप्रति नागरिकको जिम्मेवारीबोध बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आयोजना गरेको यस अभियानले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्।
२३ श्रावण २०८३, शनिबार ११:५८