जुगल गाउँपालिकामा बेरुजु सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न


जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको आयोजनामा बेरुजु न्यूनीकरण, वित्तीय अनुशासन कायम तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले बेरुजु सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

२०८३ असार ८ गते आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, लेखा परीक्षण अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बेरुजुका कारण, यसको प्रभाव, बेरुजु फछ्र्यौट प्रक्रिया, सार्वजनिक खर्चको पारदर्शिता तथा वित्तीय उत्तरदायित्वका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै लेखा परीक्षणबाट औँल्याइएका विषयहरूलाई समयमै सम्बोधन गर्दै बेरुजु न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइएको थियो।

सहभागीहरूले स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउन बेरुजु व्यवस्थापन महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै आगामी दिनमा वित्तीय अनुशासन कायम राख्दै विकास कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।

गाउँपालिकाले यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै संस्थागत सुशासनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

९ असार २०८३, मंगलवार १३:३६