सिन्धुपाल्चोकमा भेट्रान्स भलिबलको रोमाञ्चक भिडन्त, चौतारा साँगाचोकगढी च्याम्पियन

जनतापत्र,सिन्धुपाल्चोक ।
जिल्ला भित्रका अनुभवी खेलाडीहरूलाई एकै मैदानमा उतार्दै आयोजना गरिएको “जिल्ला स्तरीय अन्तरपालिका पुरुष भेट्रान्स भलिबल प्रतियोगिता” उत्साहजनक सहभागिताबीच सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला भलिबल संघ को आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका ले उपाधि जितेको छ। प्रतिस्पर्धात्मक खेलमा सुनकोशी गाउँपालिका दोस्रो स्थानमा सीमित हुँदा बलेफी गाउँपालिका तेस्रो स्थानमा रह्यो। विजेता टोलीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको छ।

प्रथम टोलीले नगद २० हजार रुपैयाँसहित खसी, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा द्वितीय हुने टोलीले १५ हजार रुपैयाँ, बोका तथा ट्रफी–मेडल प्राप्त गरेको छ। तेस्रो स्थान प्राप्त गर्ने टोलीले नगद १० हजार रुपैयाँसहित भाले, ट्रफी र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ। प्रतियोगिता श्री नवप्रतिभा युवा क्लब को व्यवस्थापनमा सञ्चालन गरिएको थियो। संयोजक राजिव हमालका अनुसार प्रतियोगिता सफल र अनुशासित रूपमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले गरेका थिए भने समापन रमेश कुमार खड्का ले गरेका थिए।
आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा खेलकुद संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै अनुभवी खेलाडीहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाएको छ।

१५ चैत्र २०८२, आईतवार २१:३७