दोस्रो इन्द्रावती गाउँपालिका वडाध्यक्ष कपको उपाधि फेरि वडा नं ५ कै पोल्टामा

जनतापत्र,सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सम्पन्न दोस्रो वडाध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर ५ ले फाइनलमा वडा नम्बर ७ लाई ३–२ को सेटमा पराजित गर्दै जितेको छ। पहिलो र दोस्रो सेट २५–१८ र २५–१६ ले गुमाएको वडा ५ ले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो र चौथो सेट २३–२५ र २४–२६ ले जित्दै खेल पाँचौं सेटमा पुर्‍याएको थियो भने निर्णायक सेट १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधिसँगै ४० हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ।

दोस्रो भएको वडा नम्बर ७ ले २५ हजार तथा तेस्रो भएको वडा नम्बर ४ ले १५ हजार रुपैयाँ प्राप्त गरेको छ, जसले तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ८ लाई पराजित गरेको थियो। प्रतियोगिताका अवसरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल ले खेलकुद कार्यक्रम गाउँपालिकाको समग्र पहलमा आयोजना गरिएको बताउँदै स्थानीय उत्पादन प्रवर्द्धन, युवा सक्रियता र खेलकुद विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो भने कार्यक्रमका सभापति तथा प्रवक्ता एवं वडा अध्यक्ष शशिनाथ आचार्य ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

८ फाल्गुन २०८२, शुक्रबार १८:२०