जुगल बोर्डिङ स्कुल – ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

आईसिँ तामाङ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा अवस्थित जुगल बोर्डिङ स्कुलले ३६ औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि आरबी कटुवाल तथा विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठको आतिथ्यता रहेको थियो। त्यसैगरी नेक्सस इन्टरनेसनल एकेडेमीका महासचिव, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले गर्नुभएको थियो।


वार्षिक उत्सवको अवसरमा शैक्षिक, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विद्यालयको शैक्षिक उन्नति, प्रभावकारी व्यवस्थापन तथा समाजप्रतिको सकारात्मक योगदानको कदर गर्दै विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

विद्यार्थीहरूले तयार पारेका नवीन योजना, परियोजना, प्रयोगात्मक नमुना तथा सिर्जनात्मक अवधारणासहितको विज्ञान प्रदर्शनी कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। उक्त प्रदर्शनीले विद्यालय पाठ्यपुस्तकमा मात्र सीमित नभई व्यवहारिक, प्रयोगात्मक तथा प्रविधिमैत्री शिक्षामा अग्रसर रहेको सन्देश दिएको छ। त्यसैगरी विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक सांस्कृतिक कार्यक्रमले उपस्थित अतिथिहरूलाई उत्साहित बनाएको थियो।

सिन्धुपाल्चोककी चर्चित चेली गंगा सोनामको विशेष प्रस्तुतीले कार्यक्रमलाई अझ उत्सवमय, रमाइलो र स्मरणीय बनाएको आयोजकले जनाएको छ। जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न उक्त कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नवप्रवर्द्धन तथा संस्कारयुक्त वातावरणमार्फत आफूलाई जिल्लाकै प्रतिष्ठित तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ।

१२ फाल्गुन २०८२, मंगलवार २२:१०