चौतारा साँगाचोकगढीमा हराएका तीन बालक ४ दिनपछि सकुशल उद्धार

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६, गिडानेका तीन बालक चार दिनपछि सकुशल उद्धार भएका छन्। उद्धार गरिएका बालकहरूमा १० वर्षीय राज परियार, १० वर्षीय सविना परियार र १२ वर्षीय विराज परियार रहेका छन्। प्राप्त जानकारी अनुसार उनीहरू चार दिनदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए। घरबाट निस्किएपछि उनीहरू पैदल चौताराबाट हुँदै काठमाडौंतर्फ जाने उद्देश्यका साथ हिँडेका खुलेको छ। यस क्रममा ओखु क्षेत्रसम्म पुगेका उनीहरूलाई इलाका प्रहरी चौकी सानो सिरुवारी, ओखुबाट प्रहरीले फेला पारी उद्धार गरेको हो। उद्धारपछि बालकहरूलाई आवश्यक सुरक्षा र हेरचाहसहित राखिएको छ।

बुधबार चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई औपचारिक रूपमा जिम्मा लगाइएको छ। हाल उनीहरूलाई सहिद स्मृति बालग्राममा राखिएको छ। बालकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक मनोपरामर्श तथा संरक्षण सेवा प्रदान गरिने जनाइएको छ। सम्बन्धित निकायले बालकहरूको हितलाई प्राथमिकतामा राख्दै परिवारसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ। साथै आगामी दिनमा उनीहरूलाई बालग्राममै राखी शैक्षिक गतिविधि अघि बढाउने योजना रहेको बताइएको छ। यसैबीच नगर उपप्रमुख सीता थापाले अभिभावकविहीन तथा आर्थिक रूपमा विपन्न बालबालिकाको जिम्मेवारी स्थानीय तहले लिने बताउँदै नगरभित्रका हरेक बालबालिकाले आफू एक्लो नभएको अनुभूति गर्न पाउने वातावरण सिर्जना गरिने उल्लेख गर्नुभयो।

१८ चैत्र २०८२, बुधबार १८:३०