देशभर ३० जनाको ज्यान गयो, हजार बढी घाइते

जनतापत्र, काठमाडौं, ।
जेनजी आन्दोलनपछि देशभरका विभिन्न अस्पतालमा ३० जनाको ज्यान गएको छ भने एक हजारभन्दा बढी घाइते उपचाररत रहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ वटा अस्पतालमा ३० जनाको मृत्यु र १,०६१ जनाले उपचार पाएका छन्। मन्त्रालयले संकलन गरेको तथ्याङ्कमा २७४ जना अझै विभिन्न अस्पतालमा भर्ना छन् भने ५६ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ। उपचारपछि ७१९ जना डिस्चार्ज भइसकेका छन्।

अस्पतालगत विवरणअनुसार निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २, त्रिवि शिक्षण अस्पतालमा १, फ्रन्टलाइन अस्पतालमा ३, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) मा २ र भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको हो।

हाल उपचाररत घाइतेमध्ये निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, वीर अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौं मेडिकल कलेजमा २४ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना छन्।

मन्त्रालयका अनुसार सबैभन्दा बढी ४३६ जनाले निजामती कर्मचारी अस्पतालमा उपचार पाएका छन्। ट्रमा सेन्टरमा १६१ र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेलाई उपचार गरिएको छ।

२६ भाद्र २०८२, बिहीबार ०७:१७