सिलाई बुनाई तालिम सम्पन्न 

जनतापत्र,चौतारा ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित ४५ दिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ।
फागुन १० देखि चैत २५ गतेसम्म सञ्चालन भएको तालिमको समापन संग कार्यक्रममा ६५ दिने एडभान्स पार्लर तालिमको उद्घाटनसमेत गरिएको छ ।
कार्यक्रममा समापन तथा उद्घाटनमा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सीपमूलक तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नु भएको छ । तालिमबाट प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्दै स्वरोजगारमा रूपान्तरण गर्न सहभागीहरूलाई आग्रह समेत गर्नु भएको थियो ।
सिलाई बुनाई तालिम वडा महिला सञ्जालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग र वडा नं ५ को संयोजनमा सञ्चालन गरिएको हो । तालिममा २० जना महिला प्रशिक्षार्थीहरूले सहभागीता जनाएका थिए।
एडभान्स पार्लर तालिममा पनि २० जना प्रशिक्षार्थीहरूका साथै जिल्ला उद्यमी संघ सिन्धुपाल्चोकको आयोजना, नगरपालिकाको सहयोग र वडा नं ५ को समन्वयमा सञ्चालन हुने भएको छ।

२७ चैत्र २०८१, बिहीबार २२:१७