सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले समुद्री सतहबाट ४,२०० मिटर उचाइमा रहेको छ्याती घाङ क्षेत्रमा कार्यपालिका बैठक सम्पन्न गरेको छ। जलवायु परिवर्तन, हिमनदी संरक्षण तथा पर्यटन प्रवर्द्धनका विषयलाई केन्द्रमा राखेर आयोजित बैठकमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको जनाइएको छ।

मानव बस्ती नभएको उक्त हिमाली क्षेत्रमा पुग्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले करिब १५ घण्टा पैदल यात्रा गरेका थिए। पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पासहित कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरू बैठकमा सहभागी भएका थिए।
बैठकले उच्च हिमाली क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासका लागि विशेष गुरुयोजना तयार गर्ने निर्णय गरेको छ। नयाँ पदमार्ग पहिचान, पर्यटक सुरक्षा तथा उद्धार व्यवस्थालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ।
त्यस्तै, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न हिमनदी, जलाधार क्षेत्र तथा जैविक विविधता संरक्षणका कार्यक्रम अघि बढाइने भएका छन्। यसका लागि संघ, प्रदेश तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरी आवश्यक स्रोत जुटाउने योजना बनाइएको छ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र पर्ने भएकाले हिमनदी र जलस्रोत संरक्षणलाई विशेष प्राथमिकता दिने निर्णय पनि गरिएको छ। साथै, धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ र संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाइनेछ।
खेलकुद र साहसिक पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ।
२६ जेष्ठ २०८३, मंगलवार १४:५८