जनतापत्र,सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा खोप सेवाको पहुँच, निरन्तरता र दिगोपनाप्रति प्रतिबद्धता व्यक्त गर्दै औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक छिरिङ लामाको अध्यक्षता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तान प्रमुख अतिथि र वडा नं। २ का अध्यक्ष पेम्बा लामा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत निशान सापकोटासहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पूर्णखोप अभियानको उपलब्धि, यसको प्रभाव तथा आगामी चुनौतीका विषयमा छलफल गरिएको थियो।
हेलम्बु गाउँपालिकाभित्र रहेका सातवटै वडाका स्वास्थ्यचौकी प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, खोप सहजकर्ता तथा खोप कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।
प्रमुख अतिथि बेनीबहादुर मोक्तानले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधारशिला भएको उल्लेख गर्दै स्वास्थ्य सेवामा देखिएका समस्याहरू समाधान गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पूर्णखोप सुनिश्चितता घोषणा एउटा उपलब्धि भए पनि यसको दिगोपना कायम राख्न सबैको निरन्तर सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो।
विशेष अतिथि पेम्बा लामाले समुदायस्तरमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको प्रशंसा गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुने बताउनुभयो।
जनस्वास्थ्य अधिकृत निशान सापकोटाले हेलम्बु गाउँपालिकाले पूर्णखोप सुनिश्चितताका लागि गरेको प्रयास उदाहरणीय रहेको बताउँदै सिन्धुपाल्चोकमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको जानकारी दिनुभयो। उहाँले नियमित खोप सेवाको पहुँच विस्तार, अभिलेख व्यवस्थापन र समुदायको सहभागिता अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमका अध्यक्ष छिरिङ लामाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको बताउनुभयो। उहाँले पूर्णखोप सुनिश्चितता तथा दिगोपनालाई कायम राख्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमले हेलम्बु गाउँपालिकामा बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति स्थानीय सरकारको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
२७ जेष्ठ २०८३, बुधबार १०:२८