आधुनिक सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामलगायतका माध्यमले सूचना आदानप्रदान, शिक्षा, व्यवसाय र मनोरञ्जनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका छन्। तर यसको प्रयोगमा आवश्यक सावधानी नअपनाउँदा समाजमा नकारात्मक असरसमेत पर्न सक्छ ।
सामाजिक सञ्जालमा गलत, भ्रामक र अपुष्ट सूचना फैलिँदा जनमानसमा भ्रम सिर्जना हुन्छ। जातीय, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्रीले सामाजिक एकता कमजोर बनाउन सक्छ । त्यस्तै, कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा आँच पु¥याउने अभिव्यक्ति र सामग्रीले कानुनी तथा सामाजिक समस्या निम्त्याउन सक्छ । राष्ट्रिय सुरक्षा, शान्ति र सामाजिक सद्भावलाई असर गर्ने गतिविधि झन् गम्भीर विषय हुन् ।
सामाजिक सञ्जालको प्रयोग गर्दा हरेक प्रयोगकर्ताले आफ्नो जिम्मेवारी बुझ्न आवश्यक छ । कुनै पनि सामग्री पोस्ट, शेयर वा टिप्पणी गर्नुअघि त्यसको सत्यता जाँच्नुपर्छ। कानुनविपरीत, घृणा फैलाउने वा अरूको अधिकार हनन गर्ने सामग्रीबाट टाढा रहनुपर्छ। साथै, व्यक्तिगत गोपनीयता र डिजिटल सुरक्षामा समेत ध्यान दिन जरुरी छ ।
सामाजिक सञ्जाल अवसर र चुनौती दुवै भएको माध्यम हो। यसको सही प्रयोगले समाजलाई सकारात्मक दिशामा लैजान सक्छ भने दुरुपयोगले विभिन्न समस्या निम्त्याउन सक्छ ।
२० जेष्ठ २०८३, बुधबार ०९:००