जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको आयोजनामा खुला नगर प्रमुख (मेयर) कप कराँते प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख आइतमान तामाङले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो।

उहाँले खेलाडीहरूलाई खेलमा जित र हारलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै वास्तविक खेलाडीको पहिचान अनुशासन, आत्मसंयम र खेल भावनामा निहित हुने उल्लेख गर्नुभयो। प्रतिस्पर्धामा सफलता हासिल गर्न निरन्तर मेहनत, समर्पण र धैर्यता आवश्यक पर्ने भन्दै हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्न खेलाडीहरूलाई प्रेरित गर्नुभयो।
नगर प्रमुख तामाङले खेलकुदले युवाहरूको व्यक्तित्व विकासका साथै सकारात्मक सोच र नेतृत्व क्षमताको विकासमा समेत टेवा पु¥याउने धारणा व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै प्रतिभाशाली खेलाडी उत्पादनका लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराउँदै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
नगर प्रमुख तामाङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, विभिन्न सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा सिन्धुपाल्चोकसहित विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको छ। खेलाडीहरूको उत्साहजनक उपस्थितिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ।

नगरपालिकाले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक र सिर्जनशील गतिविधितर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको खोजी गर्ने तथा खेल संस्कृतिको विकास गर्ने उद्देश्यका साथ यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ। प्रतियोगिताले खेलाडीहरूबीच मित्रता, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
१९ जेष्ठ २०८३, मंगलवार १६:०३